काठमाडौं । माडागास्करमा जारी राजनीतिक अस्थिरताले भयावह मोड लिएको छ । हप्तौँदेखि आफूलाई पद छाड्न माग गर्दै भइरहेका राष्ट्रव्यापी विरोध प्रदर्शनका बीच राष्ट्रपति एन्डी राजोएलिनाले आफ्नो ज्यान लिने प्रयास भएको भन्दै एउटा ‘सुरक्षित स्थान’मा लुकिरहेको खुलासा गरेका छन् ।
५१ वर्षीय राजोएलिनाले फेसबुकमार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा ‘केही सैन्य अधिकारी र राजनीतिज्ञहरूको समूहले मेरो हत्या गर्ने योजना बनाएको थियो’ भन्दै आफ्नो ज्यान जोगाउन आफू अज्ञात सुरक्षित स्थानमा सरेको बताएका छन् । उनको यो भनाइसँगै उनी ‘फ्रान्सेली सैन्य विमान’ चढेर देशबाट भागेको भन्ने अपुष्ट खबरहरूलाई थप बल पुगेको छ ।
राजोएलिनालाई सत्ताबाट हटाउने उद्देश्यले ‘जेनजी माडा’ उपनाम दिइएका युवा प्रदर्शनकारीहरूको नेतृत्वमा विगत दुई सातादेखि राष्ट्रव्यापी विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रपतिले आफ्नो सम्पूर्ण सरकार बर्खास्त गर्नेसहित विभिन्न सहुलियतहरू दिए पनि प्रदर्शनकारीहरूलाई शान्त पार्ने उनका सबै प्रयास असफल भएका छन् । गत बुधबारदेखि उनी सार्वजनिक रूपमा देखा परेका छैनन् ।
यस सप्ताहान्तमा राष्ट्रपति कार्यालयले राजोएलिनालाई सत्ताच्युत गर्ने प्रयास भइरहेको बताएको थियो । सोमबार सेनाले राज्यको टिभी मुख्यालय कब्जा गर्ने धम्की दिएपछि राष्ट्रका नाममा उनको सम्बोधन धेरै पटक ढिलो भएको थियो । अन्ततः, फेसबुक लाइभमा उनले भने, ‘सेप्टेम्बर २५ देखि नै मेरो जीवनमा खतरा र कू (सैन्य विद्रोह) को प्रयास भइरहेको छ । म आफ्नो ज्यान बचाउन बाध्य भई सुरक्षित ठाउँ खोज्न गएको छु ।’ उनले यी समस्याहरूको समाधान संविधानको सम्मान गर्नुमा निहित रहेको समेत बताएका छन् ।
संकटको यस घडीमा सन् २००९ मा राजोएलिनालाई सत्तामा ल्याउन सहयोग गरेको शक्तिशाली सेनाको इकाई ‘क्याप्स्याट’ले आफूलाई सम्पूर्ण सशस्त्र बलको कमाण्डमा रहेको घोषणा गरेर राष्ट्रपतिको शक्तिलाई कमजोर पार्ने कदम चालेको छ । यस इकाईका केही अधिकारीहरू राजधानी अन्टानानारिभोका सडकमा प्रदर्शनकारीहरूसँग समेत सामेल भएका थिए ।
सोमबार सैन्य कमाण्डरहरूको बैठकपछि, क्याप्स्याटले नियुक्त गरेका नयाँ सेना प्रमुख जनरल डेमोस्थेन पिकुलसले सार्वजनिक रूपमा सुरक्षा बलहरूले राष्ट्रमा शान्ति कायम राख्न मिलेर काम गरिरहेको आश्वासन दिएका छन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार, सोमबार साँझसम्म जनरल सङ्कट समाधान गर्न राज्य टिभी मुख्यालयमा थिए ।
माडागास्करको सबैभन्दा ठुलो विपक्षी पार्टी टीआईएमका एक वरिष्ठ नेताले नाम नखुलाउने सर्तमा बीबीसीलाई बताए अनुसार माडागास्करलाई अहिले वास्तवमा सेनाको इकाईले चलाइरहेको छ । टीआईएम पार्टीले राजोएलिनाविरुद्ध महाभियोग लगाउने योजना समेत बनाएको छ ।