काठमाडौं । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउने घोषणा गरेका छन् । सोमबार आफ्ना समर्थकसहित पशुपति मन्दिरबाट प्रसाईंले नेपाल पुनः हिन्दु अधिराज्य बनेको घोषणा गरेका हुन् ।
त्यसक्रममा उनले आफ्ना समर्थकलाई ‘आजको दिनदेखि नेपाललाई पुनः किरात, बौद्धसहित हिन्दु अधिराज्य नेपालको रुपमा स्थापित भएको घोषणा गर्दछौँ’ भन्ने सपथ समेत खुवाएका थिए ।
राजतन्त्र फर्काउने र हिन्दु अधिराज्य कायम गर्ने अभियानमा लागेका प्रसाईं गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि पक्राउसमेत परेका थिए । उक्त प्रदर्शनमा २ जनाको ज्यान गएको थियो भने केही घरहरूमा आगजनीसमेत भएको थियो ।
प्रसाईंले अहिले देशभित्रको खतरा बाहिरबाट होइन, देश भित्रकै नेपाली अनुहारहरू जो आफूलाई पढेलेखेको बुद्धिजीवि र सोसियल मिडियाको ज्ञाता भन्ने नक्कली फेसबुक चलाउनेहरूबाट भएको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘ती विदेशी एजेन्डा बोकेका कठपुतली हुन् । भाषा र शरीर नेपाली, आत्मा र दिमाग विदेशी । उनीहरूलाई राष्ट्रियता भनेको चुनावी नारा, देशप्रेम भनेको स्टाटस अपडेट मात्रै हो ।’
उनले देश र धर्म जोगाउने शान्तिपूर्ण विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।