२९ आश्विन २०८२, बुधबार
Follow Us

महाधिवेशनको संघारमा एमाले, आज केन्द्रीय कमिटी

नेपालब्रिटेन संवाददाता
२९ आश्विन २०८२, बुधबार ०६:१७

काठमाडौं । नेकपा (एमाले) को दसौं केन्द्रीय कमिटी बैठक आजबाट ललितपुरको भनिमण्डलस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट सुरु हुने भनिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात पहिलोपटक बस्न लागेको यो बैठकले अध्यक्ष केपी शर्मा ओलीको निरन्तरतालाई अनुमोदन गर्ने सम्भावना बलियो रहेको समाचारस्रोतको दाबी छ ।

बैठकको मुख्य एजेन्डामा पार्टीको ११ औं महाधिवेशनको मिति तय गर्नु रहेको छ । यसअघि सचिवालयको ५८ औं बैठकले मंसिर अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरे पनि मिति भने तोकेको थिएन । आजको केन्द्रीय कमिटी बैठकले सो मितिलाई अन्तिम रूप दिनेछ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रम समेटिएको एक विस्तृत प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राख्नेछन् । यसका साथै, केन्द्रीय सदस्यहरूले नेतृत्व र पार्टी पुनर्गठनबारे पनि घनिभूत छलफल गर्नेछन् ।

जेनजी आन्दोलनका कारण पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने र भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने विषयमा केही केन्द्रीय सदस्यहरूले आवाज उठाउँदै आएका छन्। सचिवालय बैठकमा समेत अध्यक्ष ओलीको राजीनामा र पार्टी पुनर्गठनबारे सघन बहस भएको थियो, जसको प्रत्युत्तरमा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए ।

एमालेको दसौं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । मौजुदा कार्य समितिको पाँच वर्षको कार्यकाल सकिन अझै एक वर्ष बाँकी रहँदै विशेष परिस्थिति सिर्जना भएका कारण महाधिवेशनलाई अगाडि सार्न लागिएको हो ।

यसका अतिरिक्त, केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा पनि छलफल हुनेछ । सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्ने निर्णय गरिसकेको छ । यद्यपि, प्रतिनिधि सभा पुनःस्थापनाबारे अदालतमा रिट परे पनि एमाले स्वयं भने रिट लिएर जाने मनस्थितिमा देखिएको छैन ।

तीन दिनसम्म चल्ने यो केन्द्रीय कमिटी बैठकले एमालेको भावी रणनीति, नेतृत्व चयन र समसामयिक राजनीतिक मुद्दाहरूमा महत्वपूर्ण निर्णयहरू लिनेछ ।

धेरै पढिएको