काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा रहेका सम्पूर्ण कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग आज महत्त्वपूर्ण छलफल गर्दै छिन् । देशको समसामयिक अवस्था र आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीबारे जानकारी दिन प्रधानमन्त्रीले यो विशेष बैठक आह्वान गरेकी हुन् ।
सिंहदरबारमा दिउँसो २:३० बजे बस्ने यस बैठकमा नेपालमा रहेका २६ वटै कूटनीतिक नियोगका प्रमुखहरू एवं विभिन्न मुलुकका राजदूतहरूको उपस्थिति रहनेछ । प्रधानमन्त्री कार्यालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, विकासका प्रयासहरू र विशेषगरी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारीबारे अन्तर्राष्ट्रिय समुदायलाई स्पष्ट जानकारी गराउनु हो ।
बिहीबारमात्रै सकारले चीन र अमेरिकासहित विभिन्न ११ देशका राजदूत फिर्ता बोलाएको थियो । चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो । फिर्ता बोलाइएका राजदूतहरुलाई कात्तिक २० भित्र नेपाल फर्कन भनिएको छ ।
फिर्ता बोलाइएकामा चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया नेत्रप्रसाद तिमिल्सिना, कतार रमेशचन्द्र पौडेल, रुस जंगबहादुर चौहान, साउदी अरब नरेशविक्रम ढकाल, स्पेन सनिल नेपाल, बेलायत चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापान दुर्गाबहादुर सुवेदी छन् ।