काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गरेका छन् । केही दिनअघि बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव प्रस्तुत गरेका थिए ।
यो प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा भने अझै पेश भएको छैन । यद्यपि पार्टी मुख्यालय बीपीनगर सानेपामा पार्टीको केन्द्रीय कार्यसमिति बैठक चलिरहँदा केही सदस्यहरुले कार्यसम्पादन समितिमा पेस भएको प्रस्ताव केन्द्रीय समितिमा ल्याउन आग्रह गरेका छन् ।
असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यकारी छाडेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएसँगै समयमै महाधिवेशन होस् भन्ने चाहेका छन् ।
त्यसको मतलब हो आगामी मंसिर भित्रै महाधिवेशन हुनु पर्ने । २०७८ मंसिर २४ देखि २६ गतेसम्म भएको थियो ।
सोही आधारमा पछिल्लो राजनीतिक उतारचढाव, ०७८ को मंसिरमै महाधिवेशन गरेका अन्य दलले पनि मंसिरमा महाधिवेशन गरिरहँदा सबैभन्दा ठूलो लोकतान्त्रिक दलले समयमै महाधिवेशन गर्न कुनै आपत्ति जनाउनु पर्ने अवस्था छैन ।
समयमै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि ५३ प्रतिशत हस्ताक्षरसहित महाधिवेशन प्रतिनिधिले बुझाइसकेका छन् ।
यस्तो छ महामन्त्री थापाको प्रस्ताव-
महामन्त्री थापाले पेस गरेको कार्यतालिकामा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको इन्ट्री कात्तिक २१ भित्र सक्ने भनिएको छ भने कात्तिक मसान्तसम्म क्रियाशील र नयाँ सदस्यता टुंग्याउने उल्लेख छ।
मंसिर ७ गतेसम्म क्रियाशील सदस्यताको नामावली केन्द्रमा बुझाइसक्नुपर्ने, वडा अधिवेशन मंसिर १२ र १३ गतेभित्र सक्नुपर्ने, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि टुंगो मंसिर २१ भित्र गरिसक्नुपर्ने प्रस्ताव गरिएको छ।
मंसिर २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव छ । प्रस्तावमा केही परिमार्जन गर्न सकिनेसमेत उल्लेख गरिएको छ ।
नेपालमा भएको जेन-जी आन्दोलनपछि महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले नियमित रुपले महाधिवेशन गरी नयाँ नेतृत्वमा चुनावमा जानुपर्ने बताइरहेका छन् ।
महामन्त्री थापाले मंसिरभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुने बताइरहेका छन्।