७ कार्तिक २०८२, शुक्रबार
Follow Us

राजनीतिक अस्थिरता अन्त्य गर्न नयाँ शक्तिको उदय हुन्छ : सागर ढकाल

नेपालब्रिटेन संवाददाता
३ कार्तिक २०८२, सोमबार ०६:३३

काठमाडौं । युवा नेता सागर ढकालले नेपालको ७५ वर्ष लामो राजनीतिक अस्थिरतालाई चिरकालका लागि अन्त्य गर्ने महत्वाकांक्षी योजनासहित नयाँ राजनीतिक शक्तिको उदयको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै ढकालले अहिले चिया पसलदेखि शीतलनिवाससम्म एउटै स्वर गुञ्जिरहेको (त्यो हो, नयाँ अनुहारहरूलाई एकताबद्ध गर्ने) र यही जनचाहनालाई मूर्तरूप दिन आफू अग्रसर भएको बताएका हुन् ।

ढकालले हर्क साम्पाङ, बालेन शाह, रवि लामिछाने, गोपी हमाल, कुलमान घिसिङ तथा जेनजी पुस्तामा देखिएको सकारात्मक ऊर्जा र सम्भावनालाई आत्मसात गर्दै यी सबै शक्तिलाई एउटै छातामुनि ल्याउने अभियानमा जुटेको जानकारी दिए । उनले हर्कको श्रमदान अभियान, बालेनको शिक्षामा सुधारको पहल र गोपीको फोहोर व्यवस्थापन मोडलजस्ता सफल प्रयोगहरूलाई राष्ट्रव्यापी रूपमा विस्तार गर्नु अबको आवश्यकता भएकोमा जोड दिएका छन् ।

‘अब एक्लै हिँडेर कहीँ पुगिँदैन,’ ढकालले भने, ‘सबै मिल्नुपर्छ, मिलाइनेछ ।’ उनले सबै नयाँ शक्तिहरूलाई समेट्ने गरी एक विस्तृत खाका तयार भइरहेको र यसको योजना बन्दै गरेको खुलासा गरे । आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा ५५ लाख मत कटाउने लक्ष्यसहित काम भइरहेको उनको भनाइ छ ।

ढकालले विगत ७५ वर्षमा कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न नसकेको यथार्थलाई औंल्याउँदै अब यो क्रमको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले आगामी ६ महिनालाई ‘म’ होइन ‘हामी हाम्रो देश’ भन्दै निःस्वार्थ र एकजुट भएर मेहनत गर्न सबैलाई आह्वान गरेका छन् । उनको योजनाअनुसार, यदि यस समूहले चुनाव जितेमा देशका लागि काम गर्नेछ र यदि जितेन भने पनि आफूले चाहेको व्यक्तिलाई पाँच वर्षका लागि प्रधानमन्त्री बनाएर आ-आफ्नो काममा फर्किनेछ । उनले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आगामी ६ महिनामा आफ्नो सम्पूर्ण शक्ति लगाएर मेहनत गर्न तयार रहन आग्रह गरेका छन् ।

ढकालले मिडिया ट्रायलबाट जोगिन आग्रह गर्दै कसैलाई भेट्दैमा पार्टी खोल्यो भनी विश्वास नगर्न पनि सबै सरोकारवालाहरूलाई अनुरोध गरेका छन् । यो अभियान कुनै व्यक्ति विशेषको नभई राष्ट्रिय आवश्यकताको उपज भएको उनको दाबी छ ।

धेरै पढिएको