११ कार्तिक २०८२, मंगलवार
Follow Us

ब्रिटिश पत्रकार सामी हाम्दी अमेरिकी अधिकारीद्वारा पक्राउ

नेपालब्रिटेन संवाददाता
१० कार्तिक २०८२, सोमबार २०:५३

संयुक्त राज्य अमेरिकाको आव्रजन तथा सीमा सुरक्षा निकाय (आइस) ले इस्रायलका कट्टर आलोचकका रूपमा परिचित ब्रिटिश पत्रकार र सञ्चार विश्लेषक सामी हाम्दीलाई पक्राउ गरेको छ।

सप्ताहन्तमा अमेरिकामा आयोजित वक्तृत्व यात्राको क्रममा हाम्दीलाई आइसका अधिकारीहरूले पक्राउ गरी उनको प्रवेश अनुमति (भिसा) रद्द गरिएको अमेरिकी गृह सुरक्षा विभागकी प्रवक्ता ट्रिसिया म्याकलफलिनले आइतबार सामाजिक सञ्जाल “एक्स” (पूर्व ट्विटर) मार्फत जानकारी दिइन्।

उनका अनुसार हाम्दीलाई देश निकाला प्रक्रियाको तयारीका लागि हाल आइसको नियन्त्रणमा राखिएको छ।

गृह सुरक्षा विभाग र अमेरिकी परराष्ट्र मन्त्रालयले हाम्दीलाई आतंकवाद समर्थक भएको र उनी राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको आरोप लगाएका छन्। तर मुस्लिम अधिकारसम्बन्धी संस्थाहरूले भने हाम्दीमाथि गरिएको कार्यवाही राजनीतिक रूपमा प्रेरित भएको र अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको दाबी गरेका छन्।

अमेरिकी परराष्ट्र मन्त्रालयले एक वक्तव्यमा भनेको छ—
“संयुक्त राज्य अमेरिकाले आतंकवादलाई समर्थन गर्ने वा अमेरिकीहरूको सुरक्षालाई कमजोर पार्ने कुनै पनि विदेशी नागरिकलाई आफ्नो देशमा बस्न दिने दायित्व राख्दैन।”

मन्त्रालयले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको प्रवेश अनुमति (भिसा) खारेज गर्न निरन्तरता दिइने जनाएको छ।

बीबीसीले माग गरेको प्रमाणबारे गृह सुरक्षा विभाग, आइस र परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

धेरै पढिएको