१२ कार्तिक २०८२, बुधबार
Follow Us

दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०८२, बुधबार ०३:३०

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा सो अवधिमा बेनी-जोमसोम सडक मार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् ।

कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनाइदिएको छ । सोमबार राति देखिनै मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका हुन् ।

कागबेनी-मुक्तिनाथ सडक खण्ड र मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदल मार्गमा बाक्लो हिमपात भएका कारण यहाँ आएका तीर्थालुहरू समस्यामा परेका मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएकाले चिसो अत्यधिक बढेको छ । मुक्तिनाथ स्नान कुण्ड र १०८ धारा जमेका कारण भक्तजनलाई धार्मिक कार्यमा बाधा पुगेको सुवेदीको भनाइ छ । चालु वर्षको साउनदेखि कात्तिक १० गतेसम्ममा एक लाख ५९ हजार ४६७ जना पर्यटक बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङ भित्रिएका छन् ।

धेरै पढिएको