लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को ११०औं केन्द्रीय बैठक आगामी नोभेम्बर २ (आइतवार) का दिन बस्ने भएको छ। बैठक भर्चुअल माध्यममार्फत आयोजना हुने महासचिव गौरीराज जोशीले जानकारी दिएका छन्।
संघभित्र पछिल्लो समय एकता र समायोजनका विषयमा तीव्र चर्चा चलिरहेका बेला बैठक बस्न लागेकाले यो बैठकलाई निकै महत्वपूर्ण र चासोको विषयका रूपमा हेरिएको छ।
बैठकमा संस्थाका आन्तरिक प्रतिवेदन, संस्थागत अद्यावधिक (अपडेट) तथा आगामी कार्यक्रमका अजेण्डाहरू प्रस्तुत गरिने तयारी भएको बताइएको छ। साथै, यसअघि स्थगित गरिएको १२औं बृहत एकता महाधिवेशनको नयाँ मिति तय गर्ने विषय पनि बैठकको मुख्य एजेन्डामा हुने अपेक्षा गरिएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी र महेश श्रेष्ठबीच संघभित्र एकताको प्रयोजनका लागि पछिल्ला दिनहरूमा पटक–पटक संवाद र छलफल भएको थियो। ती छलफलहरूलाई निरन्तरता दिँदै संघको आगामी दिशा र योजनाबारे यस बैठकले महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठक पछि एकता प्रक्रियामा नयाँ मोड ल्याउने सम्भावना रहेको बताइन्छ।