काठमाडौँ । जेन जेड पुस्ताकी अगुवा रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ नामक नयाँ मोर्चाको घोषणा गरिएको छ।
संयोजक बमले सामाजिक सञ्जालमार्फत २१ पृष्ठको दस्ताबेज सार्वजनिक गर्दै उक्त मोर्चाको घोषणा गरेकी हुन्। उनले जेन जेड आन्दोलनलाई संस्थागत गर्दै विभिन्न जेन जेड समूह र अभियन्तालाई एउटै मोर्चामा एकताबद्ध गर्ने लक्ष्य राखिएको उल्लेख गरेकी छन्।
जेनजी आन्दोलनलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यका साथ यो फ्रन्ट गठन गरिएको संयोजक बमले बताएकी छिन् । रक्षा बमको नेतृत्वमा गठन भएको यस फ्रन्टमा युवा अनुहारहरू युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता लगायतका सदस्यहरू रहेका छन् । यो समूहले जेनजी विद्रोहका एजेन्डाहरूलाई एकीकृत गर्दै विभिन्न जेनजी समूहहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।
जारी विज्ञप्तिमा संयोजक बमले जेनजी विद्रोहलाई संस्थागत गर्ने र सोही विद्रोहसँगै उदय भएका विभिन्न जेनजी समूहहरूलाई एकीकृत गर्ने मूल उद्देश्य रहेको प्रस्ट पारेकी छिन् । यो प्रारम्भिक समूहले समान राजनीतिक विचार राख्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्ने लक्ष्य लिएको छ । काठमाडौं लगायत देशभरका जेनजी विद्रोहमा सक्रिय युवाहरूलाई यस समूहमा जोडिनका लागि आह्वान समेत गरिएको छ ।