लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले मानसिक पिडामा परेकी एक विद्यार्थीलाई उद्धार गरि नेपाल पठाउन सहयोग गरेको छ । गत जुन महिनामा बिपिपि यूनिभर्सिटीमा मास्टर्स डिग्री अध्ययनका लागि आइपुगेकी विद्यार्थी मालती शर्मा (नाम परिवर्तन) लामो समय रोजगारी नपाउँदा मानसिक पीडामा परेकी थिइन् ।
दैनिक कामको खोजी र अध्ययनका लागि पैसा जुटाउनु पर्ने बाध्यताले दोहोरो मारमा परेकी मालती दशै अघि मानसिक पिडामा परिन् । बेलायतमा अध्ययनका लागि आएकी मालतीलाई तत्काल रेस्क्यु गर्न एनआरएनए युकेका उपाध्यक्ष कृष्ण भण्डारीलाई अनुरोध आएको बताए ।
उनकाअनुसार एनआरएनए यूके प्रवक्ता श्याम लुईटेल र एनआरएनए यूके सदस्य इन्दू भट्टराईले राती नै उनी बसेको ठाउँमा पुगेर उनलाई उद्धार गरेका थिए ।
करीब दुई साता अघि उपाध्यक्ष भण्डारी र उनकी श्रीमती कौशिला भण्डारीले वेल्सबाट केन्ट आएर ड्यारेन भ्याली हस्पिटलको इमरजेन्सीमा मालतीको प्रारम्भिक उपचार गराएका थिए । डाक्टरको सल्लाहअनुसार औषधी लिएर भण्डारी दम्पत्ति मालतीलाई लिएर वेल्स गए । केन्टमा हस्पिटल उपचारका क्रममा प्रवक्ता लुईटेल दम्पत्ति र अर्का एनआरएनए सदस्य बिष्णु भट्टराईले सहयोग गरेका थिए ।
नेपाली छात्रा मालतीलाई रेस्क्यु गर्नका लागि नेपाल भ्रमणमा रहनु भएका एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले थप सहयोगी भूमिका निर्वाह गरेका थिए ।
एनआरएनए सल्लाहकार हिराधन राईको सहयोगमा मालतीलाई नेपाल उद्धार गरी लैजाने व्यवस्था गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । नेपाली विद्यार्थीहरुलाई यस्ता घटनाबाट जोगिन अध्यक्ष पुडासैनीले बेलायत अध्ययनका लागि आउने विद्यार्थी भाईबैनीहरुले राम्रोसँग बुझेर आउन विशेष आग्रह गरेका छन् ।
उनले बेलायतमा डेरा भाडा निकै महँगो भएको, विद्यार्थीहरुलाई काम गर्ने अधिकार सीमित भएको र काम पाउन पनि निकै गाह्रो भएकोले निकै आर्थिक कठिनाइ व्यहोर्नु पर्ने भएका कारण सकभर मास्टर्स डिग्री वा सो भन्दा माथिको कोर्षमा मात्र अध्ययनका लागि आउन सुझाव दिएका छन् ।