१७ कार्तिक २०८२, सोमबार
Follow Us

प्रचण्ड-नेपाल एकताको निर्णयमा पुग्दा, झलनाथ र जनार्दन समूह छुट्टिँदै

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०८२, सोमबार ०५:३८

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र लामो समयदेखि चल्दै आएको विवाद र मतभेद उत्कर्षमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादी लगायतका आठ दल र समूहसँग एकता गर्ने निर्णय गरेसँगै पार्टीभित्रको असन्तुष्टि चुलिएको हो । विशेष गरी माओवादीमा प्रभावशाली नेता जनार्दन शर्मा समूहले यो एकता स्वीकार नगर्ने स्पष्ट र नयाँ पार्टी गठनको गृहकार्यमा लागेका छन् । एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल र रामकुमारी झाक्रीलगायत अध्यक्ष नेपालको लैलैमा नलाग्ने स्पष्ट पारेका छन् ।

शनिबार बसेको माओवादी केन्द्रको बैठकमा नेता जनार्दन शर्माले बिदाइ मन्तव्य शैलीमा आफ्नो धारणा राखेर बाहिरिएका थिए । नेता हरिबोल गजुरेलका अनुसार शर्माले प्रचण्डसँगको लामो राजनीतिक सहकार्यको स्मरण गर्दै ‘अब सकिए जस्तो छ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए । शर्मा निकट नेता सुदन किरातीले नेकपा एकीकृत समाजवादीसँगको एकता आफूहरूलाई मान्य नहुने बताए । उनले विगतका गल्ती र कमजोरीप्रति क्षमा माग्दै सहिदको सपना र बाँकी अभिभारा पूरा गर्ने गरी अघि बढ्ने बताएका छन् । यसले गर्दा शर्मा समूह नयाँ राजनीतिक यात्राको तयारीमा रहेको पुष्टि हुन्छ । माओवादी केन्द्रका नेताहरूका अनुसार शर्मा समूहले नयाँ पार्टी निर्माणका लागि दस्ताबेज लेखनको काम समेत सुरु गरिसकेको छ ।

माओवादी केन्द्रका नेता राम कार्कीले एकीकृत समाजवादीसँगको एकताको औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले माधवकुमार नेपाल नेतृत्वको पार्टी पूर्ण रूपमा गठन भइनसकेको र माधव नेपालमाथि लागेको भ्रष्टाचारको अभियोगबारे अदालतको निर्णय पर्खिनु उपयुक्त हुने तर्क गरेका छन् । ‘नवयुवाहरूको सबैभन्दा ठूलो चाहना भनेकै भ्रष्टाचारमुक्त नेपाल हो, अनि हामीले त्यही मुद्दा लागेका मान्छेलाई शिरमा राख्ने त ?’ कार्कीको प्रश्न छ । नेता किरातीले पनि कसैको रक्षा कवचका लागि पार्टी एकता गर्न लागिएको आरोप लगाएका छन् । उनले पार्टीभित्रै पुनर्संरचना र पुनर्गठनको आवश्यकता रहेको भन्दै त्यसलाई सम्बोधन गरेर मात्र बृहत् वामपन्थी एकताको कुरा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।

यद्यपि, प्रचण्ड निकट नेता हरिबोल गजुरेल भने माधवकुमार नेपालको विषयलाई बहाना मात्र भएको टिप्पणी गर्छन् । उनले जेन्जी आन्दोलनपछिको अवस्थालाई २०४६ सालको परिवर्तनपछिको स्थितिसँग जोड्दै अहिले ध्रुवीकरणको नेतृत्व माओवादीले नगरे गलत दिशातर्फ ध्रुवीकरण हुने जोखिम रहेको बताए । ‘त्यो बेला माओवादी विचार समूहहरूसँग एकता नगरेको भए जनयुद्धको पृष्ठभूमि तयार हुने थिएन,’ गजुरेल भन्छन्, ‘अहिले पनि मिल्ने र जुट्ने कुरा स्वाभाविक हो ।’ उनले विभाजनको जोखिम देखिए पनि एकताको निर्णयबाट माओवादी केन्द्र अब पछाडि नफर्किने स्पष्ट पारेका छन् ।

माओवादीमा जस्तै नेकपा एकीकृत समाजवादीमा पनि विग्रह देखिएको छ । सम्मानित नेता खनाल, महासचिव भुसाललगायतका नेताहरू पनि एकताभन्दा बाहिरै छन् । उनीहरू पार्टी पुनर्गठन गर्ने योजनामा रहेको बताइन्छ ।

तर, एकताको निर्णयमा असहमत देखिएका कतिपय नेताहरूले खनाल र भुसाल समूहलाई पनि साथ नदिने निर्णयमा पुगेको बताएका छन् । पूर्व सांसद किसान श्रेष्ठले ‘हामी कि एकतालाई साथ दिन्छौँ, कि पुरानै घर एमालेमा फर्किन्छौँ,’ भने । उनले तल्लो तहदेखिका नेता कार्यकर्ताले एमालेमै फर्किनुपर्ने दबाब दिइरहेको जानकारी दिए । ‘तर बीचमा अल्झिन्नौँ, जता गए पनि एक्सप्रेस बस चढेर हिँड्छौँ,’ श्रेष्ठले योजना सुनाए ।

आसन्न एकता प्रक्रियाले नेपालको वामपन्थी राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने निश्चित देखिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी दुवै पार्टीभित्रबाट प्रभावशाली नेताहरूको बहिर्गमन र नयाँ पार्टी निर्माणको प्रयासले आगामी दिनमा नेपाली राजनीतिमा महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ ।

धेरै पढिएको