१९ कार्तिक २०८२, बुधबार
Follow Us

काँग्रेस केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०८२, बुधबार १२:५७

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अझै केही दिन लम्बिने भएको छ । बुधवार बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अझै तीन दिन जति बैठक लम्बिने बताएका हुन् ।

उनकाअनुसार बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन् ।

समसामयिक राजनीति, गत भदौ २३ र २४ गते जेन जी आन्दोलनले पारेको प्रभाव, संसद पुनः स्थापना, राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा नेताहरूले आफ्ना धारणा राखिरहेको बताए । पदाधिकारीहरूको समय सकिन लागेकाले विशेष महाधिवेशन भन्दा नियमित महाधिवेशन नै उपयुक्त हुने आवाज आइरहेको बताए ।

उनले भने ‘छलफल जारी छ । अझै तीन दिन जति लाग्छ । बैठकको अन्त्यमा निष्कर्ष निकाल्ने हो । बोल्ने क्रम जारी छ । समसामयिक विषय, भदौ २३ र २४ को आन्दोलनपछिको प्रभावका बारेमा साथीहरूले आफ्ना विषय राख्नुभएको छ । संसद पुनः स्थापनका विषयदेखि लिएर राष्ट्रिय निर्वाचन, पार्टी अधिवेशन सम्बन्धमा कहिले कसरी गर्दा उपयुक्त हुन्छ भन्नेबारेमा साथीहरूले आफ्नो मत राख्नुभएको छ । हाम्रो कार्यकाल नै समाप्त हुँदैछ । नियमित महाधिवेशनबाट १५ औँ महाधिवेशन गर्नुपर्छ । नवयुवाको उपस्थिति पनि हुन्छ भन्ने हो । निर्वाचनलाई मध्यनजर गरेर कार्यपालिकाबारे फरक मत आएको छ ।’

उनले नियमित महाधिवेशन गर्दा नवयुवाको प्रतिनिधित्व पनि हुने भएकाले निर्वाचनलाई मध्यनजर गरी कार्यतालिका निकालिने र बैठकको अन्तिममा निष्कर्ष निकाल्ने बताए ।

धेरै पढिएको