काठमाडौँ । जेन जेड आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले अब कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको बयान लिने तयारी गरेको छ ।
नेपाल प्रहरीले कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण जाँचबुझ आयोगमा पठाएपछि आयोगले संलग्नहरूको भूमिका हेरेर बयानमा झिकाउने तयारी गरेको हो ।
‘काठमाडौँ उपत्यकाको हकमा भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण हामीले पाएका छौँ,’ आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले भने, ‘अब हामी कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकारीहरूलाई बोलाएर छलफल गर्छौँ।’
आयोगले करिब तीन सातादेखि नेपाल प्रहरीसँग कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मीहरूको विवरण मागेको थियो । विवरण पठाउन रोकेका प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्लाई जाँचबुझ आयोगले कारवाही गर्ने चेतावनी दिएपछि प्रहरीले बल्ल विवरण पठाएको हो ।
आयोगले बुधबार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिएको छ। दुई दिनदेखि नख्खु कारागारका कैदी बन्दीहरूसँग सोधपुछ गरेको आयोगले लामिछानेलाई भने बयान लिने निर्णय गरेको थियो।