काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘जेन-जी’ आन्दोलनपछिको राजनीतिक घटनाक्रमलाई ‘परिवर्तन नभई प्रतिगमन’ भएको कडा टिप्पणी गरेका छन् । ओलीले हालको अवस्थाले संविधान र लोकतन्त्र दुवैलाई चुनौती दिएको आरोप लगाए । उनले भने, ‘अहिले ‘सो-कल्ड परिवर्तन’ भनिएको छ, तर यो परिवर्तन होइन, प्रतिगमन हो । प्रतिगामी कदम चालिएको छ । यो असंवैधानिक हो, संविधान मिचिएको छ, पेलिएको छ, अर्थहीन बनाइएको छ ।’
उनका अनुसार हालका निर्णय र घटनाक्रमले संविधानको मर्मविपरीत काम भएको स्पष्ट देखिन्छ । प्रतिनिधिसभा विघटनको कदमलाई पहिलो असंवैधानिक निर्णयका रूपमा उल्लेख गर्दै उनले भने, ‘सार्वभौम जनताबाट निर्वाचित, जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा भंग गरिएको छ, जुन कुनै पनि धाराले अनुमति दिँदैन ।’
ओलीले यस्तो कदम लोकतान्त्रिक मूल्य र संवैधानिक शासनविरुद्ध भएको दाबी गर्दै एमालेलाई यो स्थिति स्वीकार्य नहुने स्पष्ट पारे । उनले राजनीतिक स्थायित्व, संवैधानिक मर्यादा र लोकतान्त्रिक संस्थाको सुदृढीकरण नै वर्तमान समयको प्रमुख आवश्यकता भएको जिकिर गरे । ओलीले भदौ २३-२४ पछि भएको परिवर्तन अग्रगमन नभएर प्रतिगमन भएको बताउँदै व्यक्तिका घर जलाउनु आतंकवाद भएको दाबी गरे ।
अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई ‘असंवैधानिक, प्रतिगामी र हाहुको भरमा बनेको सरकार’ भन्दै तीव्र टिप्पणी गरे । ओलीले यो सरकार जनताको म्याण्डेट नभई अराजक अभ्यास र अदृश्य शक्तिको प्रभावबाट बनेको आरोप लगाए । ‘अहिलेका प्रतिगमनकारीको कुनै धरातल छैन, यो अदृश्य शक्तिबाट बनेको सरकार हो । मैले यसलाई हाहुको सरकार भनेको थिएँ, वास्तवमै हाहुमा बनेको सरकार हो । आगो लगाएका भरमा, तोडफोड गरेका भरमा, अराजकता र आतंक मच्चाएका भरमा शासनमा पुगेको सरकार यो हो’, उनको आरोप थियो । पूर्व-प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री पद सम्हाल्नु संविधानविपरीत भएको ओलीको आरोप छ । ‘संविधानले स्पष्ट रूपमा पूर्व-प्रधानन्यायाधीशलाई मानव अधिकार आयोगबाहेक कुनै पनि पदमा जान नदिने व्यवस्था गरेको छ । तर, उहाँ आफैँ संविधान मिचेर प्रधानमन्त्री बन्नुभएको छ । यो सोझै असंवैधानिक, प्रतिगामी र संविधान मिचुवा सरकार हो’, अध्यक्ष ओलीले जिकिर गरे ।
अध्यक्ष ओलीले ‘जेन-जी’ आन्दोलनको कुनै जग नभएको टिप्पणी गरे । शुक्रबार एमाले शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले राजतन्त्रका बेलाजस्तो अहिले कुनै आधार नभएको टिप्पणी गरेका हुन् । ‘अहिलेका प्रतिगमनकारी कमजोर, कुनै ग्राउण्ड, इतिहास नभएका । परम्पराको टेको न जनसमर्थनको आधार केही पनि नभएका’, ओलीले भने । ओलीले डिस्कर्डबाट चुनाव गरेर शासनमा पुगेको भन्दै मतपत्र कस्तो थियो ? भनेर ‘जेन-जी’ लाई प्रश्न गरे । ‘डिस्कर्डबाट शासनमा पुगेका रे ! डेमोक्रेसीमा कहीँ डिस्कर्डबाट शासन हुन्छ ? डिस्कर्डमा भोटिङ पनि गर्या रे ! दुई तीन हजार केटाकेटी जम्मा भए अनि भोटिङ पनि गरेका रे ! कसले गन्यो ? मतपत्र कस्तो थियो ? रेजा लगायो कि प्वाल पा¥यो अमेरिकाको जस्तो ?’, उनले भने ।
एमाले अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने बताए । बुद्धिजीवीहरूसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेकाले पुनःस्थापना पनि राष्ट्रपतिले नै गर्नुपर्ने बताएका हुन् । उनले प्रतिनिधिसभा पुनःस्थापना अदालतले नगरे राष्ट्रपतिले गर्नैपर्ने जिकिर गर्दै आफ्नो पार्टीको माग सत्य भएको दाबी गरे । उनले सो मागको समर्थनमा आम नेपाली जनता उभिनुपर्ने आवश्यकता औंल्याए । ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्छ । र, सो मागलाई अझ तीव्र बनाउनुपर्छ । जसले विघटन गर्छ, त्यसले नै पुनःस्थापना गर्नुपर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने राष्ट्रपतिले पुनःस्थापना गर्न नसक्ने कसरी हुन्छ ? पुनःस्थापना गर्नैपर्छ नि । विघटन गर्ने राष्ट्रपतिले नै पुनःस्थापना गर्नुपर्छ । यस विषयमा हामी लेख्न, बोल्न र सत्यको पक्षमा उभिन सक्नुपर्छ’, उनको भनाइ थियो । अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित आन्दोलनमा उत्रिन सबैलाई आह्वान पनि गरे ।
अध्यक्ष ओलीले प्रमुख दलका नेताको पासपोर्ट रोक्का र स्थानहद तोकेर तमासा गरिएको टिप्पणी गरे । अन्तरक्रियामा आफ्ना भनाइ राख्दै ओलीले नेतालाई स्थानहद तोकेर चुनाव गर्छु भन्नु हास्यास्पद भएको टिप्पणी गरे । ‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन, हाँगा पनि छैन । पहेँलो लहरो हुन्छ नि, आकाशबेली । आकाशबेली जस्तो कहाँ-कहाँबाट पलाएको सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेको पासपोर्ट रोक्का गर्छ, के ठान्या छ ? यो हाहुमा बनेको गैरजिम्मेवार र अनुत्तरदायी सरकारलाई देश सुम्पेर केपी ओली भागेर जान्छ ?’ ओलीले भने, ‘मर्न परे यही देशमा मर्छु । आफूजस्तो ठानेर पासपोर्ट रोक्का, तमासा पनि एउटा हदको हुन्छ नि !’
ओलीले पासपोर्ट रोक्का गरेको पत्र सरकारले अहिलेसम्म आफूलाई नदिएको सुनाए । ‘सुनेको हो, उनीहरूले भनेका भन्यै छन्, पासपोर्ट रोक्का गर कि गर भनेका छन् । मलाई पत्र दिएका छैनन् । रोक्का गरेको होला, होइन पनि भनेको छैन । मलाई पत्र दिएको छैन’, ओलीले भने ।
उनले वर्तमान सरकारलाई अनुत्तरदायी भन्दै आफूलाई सुकरातसँग तुलना गरे । ‘त्यसबेला सुकरात त भागेन आजको केपी ओली भाग्छ ? तमासा पनि हदको हुन्छ नि’ उनको भनाइ थियो । अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार देशको अर्थतन्त्र चौपट पार्नतिर केन्द्रित भएको पनि आरोप लगाए ।
कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्रका असन्तुष्ट प्रवृत्तिमाथि पनि कटाक्ष गरे । उनले कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रियावादीहरूले गर्ने गरेको बताए । ‘कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, नेतालाई गाली गर्ने काम प्रतिक्रयावादीहरूले आफ्नो पार्टीलाई गाली गर्छन् र छोड्छन् । यति सेन्टीमेण्टल नहुनुपथ्र्यो । तर, कोही कोही मान्छे भएको देखियो । यस्तो चाँडो तात्ने र सेलाउने आल्मोनियम पनि गर्दैन । आल्मोनियमभन्दा पनि पातलो आल्मोनियम जस्तो छिट्टै तात्ने, छिट्टै सेलाउने हामीले गर्नु हुँदैन ।
हामी एउटा महान् उद्देश्य लिएर जन्मिएका हौँ । हाम्रो आन्दोलन, हाम्रो पार्टी महान् आन्दोलन लिएर जन्मिएको हो’, अध्यक्ष ओलीले बताए । साथै उनले सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा रहेकाले नेकपा एमाले निराश हुन नजान्ने जिकिर गरे । ‘यी सबै आन्दोलनहरूमा नेकपा एमाले अग्रभागमा छ । नेकपा एमाले निराश हुन जान्दैन । हतोत्साही हुन जान्दैन । यसले समाज विज्ञानलाई बुझेको छ । समाज कसरी अघि बढ्छ भन्ने कुरालाई बुझेको छ । समाज पछाडि फर्कंदैन,’ ओलीले भने ।