काठमाडौं । हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । आइतबार भएको बाउल लिगको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
युएईले प्रस्तुत गरेको १३० रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान सन्दीप जोरा र मोहम्मद आदिल आलमले केही आशा जगाए पनि त्यो जितका लागि पर्याप्त भएन । जोराले ३१ रन बनाए भने आलमले ३२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानहरू लोकेश बमले ७, रसिद खानले ६ र बसिर अहमदले ८ रन जोड्न सके । युएईका लागि मोहम्मद फारूकले २ तथा निलान्स केश्वानी र साघिर खानले १/१ विकेट लिए ।
यसअघि ब्याटिङ गरेको युएईले आक्रामक प्रदर्शन गर्दै १२९ रन बनाएको थियो । युएईका लागि निलान्स केश्वानीले ५० रनको अर्धशतकीय पारी खेले भने जाहिद अलीले ३० र मुहम्मद फारूकले २४ रन जोडे । मोहम्मद अर्फानले १६, खालिद साहले ४ र साघिर खानले १ रन बनाए । नेपालका बलरहरूमध्ये रसिद खानले २ विकेट लिए भने रूपेश सिंह र लोकेश बमले १/१ विकेट हात पारे ।
प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेन । समूह चरणका दुवै खेलमा पराजित भएपछि नेपाल बाउल लिगमा पुगेको थियो । बाउल लिगमा नेपालले भारतलाई मात्र पराजित गर्न सक्यो । १६ टोली सहभागी प्रतियोगितामा नेपाल १५औं स्थानमा रहँदै घर फर्कियो भने भारत अन्तिम स्थानमा रह्यो ।