२५ कार्तिक २०८२, मंगलवार
Follow Us

तीन जापानी सहरमा नेपाली लोकरक गुन्जाउँदै नेपथ्य

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०८२, सोमबार २०:१६

लोकरक ब्यान्ड नेपथ्यले जापानको नागोया, टोकियो र ओसाकामा शृङ्खलाबद्ध कन्सर्ट गर्ने भएको छ । ब्यान्ड बामे सर्दाका दिनहरूमा अनेक तीता–मीठा घटना जोडिएको जापानमा नेपथ्य दुई वर्षपछि प्रस्तुत हुन लागेको हो ।

जापानमा ब्यान्डको शृङ्खलाबद्ध प्रस्तुति नागोया सहरबाट थालनी हुनेछ । ‘नागोया लाइभ्स’ सभागृहमा नोभेम्बर १३ बिहीबार ब्यान्डले नेपाली लोकरक गीतहरू गुन्जाउनेछ । नागोयामा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

पाँच दिनपछि ब्यान्ड राजधानी टोकियोमा प्रस्तुत हुनेछ । १८ नोभेम्बर मङ्गलबार जापानकै प्रसिद्ध ‘टोकियो डोम सिटी हल’ मा नेपथ्य उभिने भएको हो । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यस हलमा ब्यान्ड दोस्रो पटक प्रस्तुत हुन लागेको हो । सात वर्षपहिले पनि त्यस हलमा नेपथ्यको कन्सर्ट भएको थियो । नेपथ्य यसअघि भने ‘तोयोसु पिट’ मा प्रस्तुत भएको थियो ।

टोकियोको भब्य हलमा आफ्ना गीतहरू सुनाएको ठीक छ दिनपछि नोभेम्बर २४ मा ब्यान्ड ओसाका सहरका दर्शकसामु प्रस्तुत हुनेछ । कन्सर्टका लागि नेपथ्यले त्यहाँको ‘जेप ओसाका बे साइड’ लाई चयन गरेको छ । दुई वर्षअघि भने नेपथ्यले त्यहाँको अर्को हल ‘नाम्बा ह्याच’ मा नेपाली लोकरक गुन्जाएको थियो ।

नेपथ्य जापानमा पहिलोपटक सन् १९९८ मा प्रस्तुत भएको थियो । ब्यान्ड मुलुकबाहिर धेरैपटक उपस्थित भएका देशहरूमा जापान पनि पर्छ ।

नेपथ्यको जापान यात्रालाई यसपटक ‘भिजोनिया’ समूहले संयोजन गरेको छ । ‘कन्सर्टलाई भव्य बनाउन पूरा क्षमतामा काम गरिरहेका छौँ,’ भिजोनियाका प्रमुख सुभाष लामिछाने भन्छन्, ‘टिकट बिक्री तीव्र गतिमा भइरहेको छ । जापानका अन्य सहरमा बसोबास गर्ने इच्छुकले विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन् ।’

तीन दशकभन्दा लामो साङ्गीतिक यात्रामा नेपथ्यले जापानसँगका धेरै सम्झनाहरू बोकेको ब्यान्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ बताउँछन् । उनी थप्छन्, ‘मीठा यादहरूबाहेक अढाई दशकअघि हाम्रो ब्यान्ड त्यसै मुलुकमा पुगेर टुक्रिएको तीतो अनुभव पनि हामीसँग छ ।’
आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो हृदयसाथ स्वागत गर्दै आएको अमृत सुनाउँछन् ।

विशेषतः आर्थिक उपार्जनका लागि लामो समयदेखि रोजगारी वा बसोबास गर्ने नेपालीमाझ जापान आकर्षक गन्तब्य रहँदै आएको छ । पछिल्लो समय भने यो मुलुक उच्च शिक्षाका लागि पनि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ । आफूसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरूले नेपाली लोक भाकामा आधारित रक सङ्गीत प्रस्तुत गर्ने नेपथ्यका गीतहरू मन पराउँदै आएका छन् ।

नेपथ्यको उपस्थितिलाई नेपाली दर्शक–श्रोताबाहेक जापानीबाट पनि उत्तिकै स्नेह मिल्दै आएको छ । कन्सर्टका बेला जापानीको उपस्थिति पनि देखिने गरेको छ । सन् २०१५ मा जापान पुगेको बेला अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तर्वार्तासहित नेपाल र नेपथ्यलाई चिनाउने भिडियो रिपोर्ट ‘प्राइम टाइम न्युज’ मै देखाएको थियो । त्यसले पनि जापानीमाझ ब्यान्डको पहिचान स्थापित गर्न मद्दत गरेको थियो ।
नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार मञ्चमा प्रस्तुत हुने छ कलाकारका अलावा व्यवस्थापन र प्राविधिक फाँटका आठ थप सदस्य सहितको टोली जापान पुग्दै छ । ‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ श्रेष्ठ भन्छन् ।

जापानका मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

दर्शकको सुविधालाई ध्यानमा राख्दै जापानका कन्सर्टहरूका लागि पनि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

धेरै पढिएको