मेलबर्न । मंगलबार विहान भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा तीन नेपालीको निधन भएको छ । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीय एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै निधन भएको हो । उनीहरुसँगै यात्रा गरिरहेकी एक बृद्धको भने उपचार भइरहेको छ ।
दुर्घटनाग्रस्त कारबाट उद्धार गरी उनलाई हेलिकोप्टरमार्फत अस्पताल पठाइएको थियो । सानो बाटोबाट अर्को बाटोमा निस्कने क्रममा रोकेर दुबैतर्फ हेरेपछि मात्रै प्रवेश गर्नुपर्नेमा नरोकी रोडमा पुगेका कारण दायाँतर्फबाट आएको ट्रकको ठक्करले उक्त दुर्घटना भएको थियो । अर्को कारमा सवार भएका दुर्घटनाग्रस्त कारमा रहेका व्यक्तिका आफन्तहरुले धेरै समयसम्म पनि कुनै खबर नआएपछि खोजी गर्दैगर्दा समाचारमा दुर्घटनाबारे सुनेका थिए । अर्को कारमा सवार जेठान, ससुरा र छोरी सकुशल भएको बताइएको छ ।
नेपालमा चितवन घर भई हाल स्थायी रुपमा जिलङ बसोबास गरिहेको परिवारमा अहिले शोक छाएको छ । दुर्घटनास्थलको विवरण दिँदै प्रहरी अधिकारीहरुले निकै दुखद दुर्घटना भएको बताएका छन् । ट्रकले कारलाई साइडबाट ठक्कर दिँदा कार पटक–पटक घुमेर यात्रु साइडमा पल्टिएको प्रहरीले जनाएको छ ।
ट्रक चालक भने सामान्य घाइते भएका छन् र स्थिर अवस्थामा बलाराट बेस अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रकका चालकले निजलाई एमबुलेन्स मार्फत अस्पताल लग्नुअघि प्रहरीलाई सहयोग गरेको बताइएको छ । एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भएको र आवश्यक सहायताका लागि तयार रहेको बताएका छन् ।
– kbckhabar