काठमाडौं महानगरपालिकाले स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका संरचनामा बिहीबार डोजर चलाएको छ।
महानगरको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले संरचना खाली गर्न लागेको खेलकुदमन्त्री मन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ।
नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो।
उक्त कम्पनी नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा छ।
महानगरले नेपाल स्काउटको लिजमा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दै आए पनि कम्पनीले अटेर गर्दै आएको थियो। स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो।
लैनचौरस्थित कित्ता नम्बर १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५मा सम्झौता भएको थियो। १० वर्षे करार सम्झौता २०७५ सालमै सकिएको भए पनि कम्पनीले स्काउटको स्वामित्वको जग्गा छाडेको थिएन।
सम्झौता पत्र अनुसारको अवधि समाप्त नभएको भन्दै कम्पनीले बखेडा झिकेपछि विवाद सिर्जना भएको थियो।
अवधि र पार्किङ लगायतका विषयमा विवाद उत्पन्न भएपछि कम्पनी काठमाडौं जिल्ला र पाटन उच्च अदालत गएको थियो ।