काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा नीति अनुसन्धान प्रतिष्ठानले काम गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रधानमन्त्री कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा विकल्पसहित सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताएका छन् ।
उनका अनुसार आसन्न निर्वाचनका लागि संशोधन गर्नुपर्ने कानुनका सन्दर्भमा कानुन मन्त्रालयसँग छलफल चलिरहेको छ ।
उनले निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाबारे अध्ययन गर्न गठित एकीकृत सुरक्षा योजना तर्जुमा कार्य दलले समेत प्रतिवेदन बुझाइ सकेको बताए । उक्त प्रतिवेदन केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भइसकेपछि जिम्मेवारी बाँडफाँट गरिने पनि बताए ।
उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरूसँग समेत परामर्श गइरहेको बताए ।