काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन-जी आन्दोलन असल मनसायले सुरु भए पनि यसमा गलत तत्त्वहरूको घुसपैठ भएको बताएका छन् । उनले यसरी घुसपैठ गरी तोडफोड, आगजनी र लुटपाटमा संलग्न हुनेहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता निजी क्षेत्रको पनि प्रमुख एजेन्डा रहेको बताए । उनले महासंघको गत साधारण सभाले समेत यी विषयलाई पारित गरेको स्मरण गराउँदै भने, ‘यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसाबले गलत घुसपैठ भयो, चोरी, आगजनी, लुटपाट, तोडफोडहरू भयो । यसमा संलग्न गलत तत्त्वहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तब मात्र आम निजी क्षेत्रको मनोबल उच्च हुनेछ ।’
उनले आन्दोलनको गलत प्रयोगले व्यक्तिगत सम्पत्ति, उद्योग र व्यवसायमा ठूलो क्षति पुगेको उल्लेख गरे । यदि सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षा गर्न नसकेमा मुलुकमा थप लगानी भित्रिन नसक्ने र लगानीकर्ताहरू निरुत्साहित हुने चेतावनी उनले दिए । ढकालले भने, ‘सरकारले सुरक्षा दिन नसक्ने हो भने आउने दिनमा यस्ता किसिमका घुसपैठहरू बढ्नेछन्, व्यक्ति र व्यवसायीको आत्मविश्वास घट्नेछ ।’
यद्यपि, उनले आन्दोलनका क्रममा भएको तोडफोड र क्षतिका कारण प्रभावित व्यवसायीहरूलाई सहुलियत दिन अर्थ मन्त्रालयले छोटो समयमै प्रभावकारी काम गरेकोमा प्रशंसा गरे ।
अध्यक्ष ढकालले अर्थ मन्त्रालयले भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रसम्मका सेवाहरू फेसलेस प्रणालीमार्फत अनलाइनबाट उपलब्ध गराएकोमा पनि सराहना गरे । उनले बैंकहरूमा हाल ११ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको जानकारी दिँदै लगानीको वातावरण तयार गर्न सरकारलाई आग्रह गरे । ‘अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरूमा लगानी नभएर बेवारिसे छन्, उनीहरूको लागत बढेको छ,’ उनले भने ।
ढकालले लामो समयदेखि जलविद्युत् आयोजनाहरूलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डले अनुमति नदिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले धितोपत्र बोर्डमा देखिएको समस्यालाई तत्काल समाधान गर्न अर्थमन्त्रीलाई आग्रह समेत गरे ।