काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १ सय २३ दलसँग आगामी चुनावबारे छलफल गर्ने भएकी छन् । आज दिउँसो ४ बजे छलफलका लागि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा दलहरूलाई बोलाइएको छ । फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि उनले सबैसँग संयुक्त छलफल गर्न लागेकी हुन् ।
निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेका बेला प्रधानमन्त्रीले सम्पूर्ण दलहरूलाई निर्वाचनमा सक्रिय सहभागिताका लागि अपिल गर्न लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, यस छलफलको मुख्य उद्देश्य निर्वाचन प्रक्रियालाई समावेशी र जनमुखी बनाउँदै सबै राजनीतिक शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गर्नु हो ।
प्रधानमन्त्री कार्कीले यसअघि पनि राजनीतिक संवादलाई निरन्तरता दिँदै आएकी छिन् । उनले यसअघि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छुट्टै छलफल गरेकी थिइन् । त्यसैगरी, उनले युवा पुस्ताका प्रतिनिधिहरूसँग पनि निर्वाचन प्रक्रिया र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरेकी थिइन् ।