५ मंसिर २०८२, शुक्रबार
Follow Us

सरकार, दल र ‘जेनजी’लाई सच्चिन नागरिक समूहको अपिल

नेपालब्रिटेन संवाददाता
५ मंसिर २०८२, शुक्रबार ०५:३४

काठमाडौँ । नागरिक समूहले सरकार, जेन जेड र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ ।

बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले विज्ञप्तिमार्फत असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो ।

राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ ।

सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमै भएको भिडन्त, कर्फ्यू आदेश, संरचनाहरूमा क्षति, तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको पनि नागरिक समूहले उल्लेख गरेको छ ।

त्यस्तै शान्तिपूर्ण निर्वाचन हुन नसके देश राजनीतिक शून्यतामा धकेलिन सक्ने भन्दै त्यसको प्रतिकूल असर सबै पक्षले भोग्नुपर्नेतर्फ नागरिक समूहले सचेत गराएको छ ।

नागरिक समूहले सरकार, राजनीतिक दलहरू तथा जेन जेड समूहलाई देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने तथा चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । ‘सबै पक्षहरू संयमित हुन, संवादमार्फत समस्या समाधान गर्न र संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन अत्यावश्यक भएको नागरिक समूहको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ ।

चुनाव नै तोकिसकेको अवस्थामा राजनीतिक दलहरू विगतमा भन्दा बढी जनतामा जानु या राजनीतिक गतिविधि गर्नु स्वभाविक भएको उल्लेख गर्दै उसले चुनावी गतिविधि गर्दा दलहरू स्वयं पनि उक्साहट, भिडन्त र तनाव निम्त्याउने कार्यबाट अलग रहनुपर्ने नागरिक समूहको आग्रह छ । जेन जेड युवाहरू पनि संविधानको ख्याल गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिकै बाटोमा हिँड्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको