काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो तस्बिर डबिङ गरी राजनीतिक दलमा प्रवेश गरेको भन्दै भ्रामक सूचना फैलाइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आक्रामक रूपमा प्रस्तुत भएका छन् । आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको र नहुने स्पष्ट पार्दै मन्त्री पुनले भ्रामक सूचना सम्प्रेषण गर्ने ‘मिस पबी ४’ नामक फेसबुक पेजविरुद्ध फेसबुकको माउ कम्पनी ‘मेटा’ मा रिपोर्ट गरेका हुन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ब्यानर र झन्डासहितको तस्बिरमा मन्त्री पुनलाई जोडेर भ्रामक पोस्टहरू भाइरल बनाइएको थियो । उक्त पेजले जनतालाई झुक्याउने र समाजमा भ्रम सिर्जना गर्ने काम गरेको भन्दै उनले कानुनी र प्राविधिक उपचार खोजेको बताएका छन् । सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले लेखेका छन्, ‘सावधान ! ‘मिस पबी ४’ भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरेँ र अरू साथीहरू पनि सावधान हुनुहोस् ।’
उनले यस्ता पेजहरूले झुटो कुरा फैलाएर समाजलाई भाँड्ने काम गर्ने भएकाले सचेत रहन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् । आफू स्वतन्त्र रूपमा देशको सेवामा लागिपरेको उल्लेख गर्दै उनले कुनै अमुक पार्टीमा प्रवेश गर्ने हल्लामा विश्वास नगर्न सबैमा अनुरोध गरेका छन् ।