काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को खेलका क्रममा बल लागेर एक चियर लिडर घाइते भएकी छन् । धादिङको गजुरी नगरपालिका–६, घर भई हाल काठमाडौंको माछापोखरी बस्दै आएकी २३ वर्षीया शर्मिला विक घाइते भएकी हुन् ।
जनकपुर बोल्ट्ससँगको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्ले छक्का हानेको बल अनुहारमा लाग्दा उनी बेहोस भएकी थिइन् । लगत्तै उनलाई बल्खुस्थित बयोधा अस्पताल पुर्याइएकोमा अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनको बायाँ आँखाको तल पट्टी र नाकमा चोट लागेको छ । उनी अहिले बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।