१३ पुष २०८२, आईतवार
Follow Us

हेथ्रो विमानस्थलमा लगेज लुट्न ‘पेपर स्प्रे’ हमला

नेपालब्रिटेन संवाददाता
२२ मंसिर २०८२, सोमबार ०२:२५

लन्डनको हेथ्रो एयरपोर्टमा आइतबार बिहान ‘पेपर स्प्रे’ प्रयोग गरिएको घटनापछि २१ जनाले उपचार आवश्यक परेको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य भागेकाहरूको खोजी जारी छ।

मेट्रोपोलिटन प्रहरीले दिएको जानकारी अनुसार आइतबार बिहान ८:११ बजे टर्मिनल ३ को बहु–तले पार्किङ क्षेत्रबाट धेरै व्यक्तिमाथि आक्रमण भएको खबर आएपछि प्रहरी टोली खटिएको थियो।

प्रहरी प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सशस्त्र प्रहरी घटनास्थलमा पुगेको नौ मिनेटमै ३१ वर्षीय एक पुरुषलाई आक्रमण गरेको आरोपमा पक्राउ गरियो। उनलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ। अन्य संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य भइरहेको छ।”

मेट प्रहरीका कमाण्डर पिटर स्टिभेन्सका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानले एक महिलाको सुटकेस चार जनाको समूहले लुट्ने प्रयास गरेको आशंका गरिएको छ। “समूहमध्ये एक सदस्यले महिलातर्फ ‘पेपर स्प्रे’ फालेका थिए,” उनले बताए।

यो घटना पार्किङ क्षेत्रको लिफ्टभित्र भएको हो, जसका कारण लिफ्टभित्र रहेका व्यक्तिहरू तथा आसपासका क्षेत्रका अन्य यात्रुहरू पनि स्प्रेको प्रभावमा परेका थिए।

घटनास्थलमा दमकल तथा आपतकालीन सेवाहरू समेत परिचालन गरिएको थियो।

धेरै पढिएको