नवलपुर । बहुविवाहको आरोपमा जिल्ला प्रहरी कार्यालय, नवलपुरका कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।
बहुविवाहको उजुरी परेपछि नेपाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । नेपाललाई जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले बुधबार पक्राउ गरेको खड्काले बताउनुभयो ।
बुटबल घर भएका नेपाल मंगलबार बिदामा गएको र बहुविवाहका बारेमा भने आफूहरलाई अहिलेसम्म जानकारी नभएको खड्काको भनाइ छ । डीएसपी नेपालकी जेठी पत्नी तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । उजुरी परेपछि नेपालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
नेपाललाई रुपन्देहीको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । नेपालले प्रहरीमै कार्यरत युवतीसँग दोस्रो विवाह गरेको उजुरी परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।