१८ पुष २०८२, शुक्रबार
Follow Us

आम निर्वाचनभन्दा पहिलै एनआरएनए निर्वाचन : महेश श्रेष्ठ, अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०८२, बिहीबार १३:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले नेपालको आम निर्वाचनभन्दा अघिनै संघको नयाँ नेतृत्वका लागि निर्वाचन गरिने बताएका छन्।

नेपालबाट सञ्चालित उकालो अनलाइनसँगको अन्तर्वार्तामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन मार्च ५ तारिखअघि नै हुने जानकारी दिए। उनका अनुसार, “छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने भनिएको छ। नेपालमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ, त्यसअघि नै संघको निर्वाचन सक्नुपर्छ,” उनले भने।

श्रेष्ठले आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गरेर सबै पक्ष मिलाउने संघको प्रयास रहने बताए। उनका अनुसार, “मिलाउनका लागि पहल भइसकेको छ। निर्वाचनमा प्रायः विवाद हुन्छ—विशेषगरी निर्वाचन प्रणाली र महाधिवेशन प्रतिनिधिको सवालमा विवाद हुने सम्भावना हुन्छ। अहिले एनआरएनएको संरचना र विधानले विश्वभर रहेका नेपालीलाई समेट्न सक्दैन। यसमा आमूल परिवर्तन आवश्यक छ,” उनले स्पष्ट पारे।

उनका अनुसार, अहिलेकै संरचनामा रहेका कमजोरीका कारण आउँदे दिनमा पनि विवाद उत्पन्न भइरहने खतरा रहन्छ। “यो कार्यकालमा कुनै तरिकाले मिलाउन सकिए पनि अर्को कार्यकालमा संरचना र विधानमा व्यापक परिवर्तन गर्नैपर्छ,” उनले भने।

श्रेष्ठले हालको संरचना अत्यधिक चुनावमुखी भएको उल्लेख गरे। “हरेक दुई–दुई वर्षमा चुनाव हुने र त्यही चुनावका कारण विवाद बढ्ने अवस्था छ। हाम्रो जस्तो संस्थामा यस्तो बारम्बारको चुनाव उपयुक्त हुँदैन। संयुक्त राष्ट्रसंघ, लायन्स क्लब, रोटरी क्लब जस्ता मोडेल उपयुक्त हुन सक्छन्,” उनले सुझाव दिए।

संरचनामा के खराबी छन्?

श्रेष्ठका अनुसार, हालको संरचनामा प्रतिनिधि चयन प्रणाली नै विवादको मूल कारण हो। सीमित प्रतिनिधि संख्या भएकाले धेरै देशमा विवाद हुने गरेको बताउँदै उनले भने, “निर्वाचन अनलाइन गर्ने कि भौतिक रूपमा गर्ने भन्नेमा पनि मतभेद छन्। विगतमा अनलाइन प्रणालीमा समस्या आएपछि त्यसप्रति आशंका अझै रहेको छ। नेतृत्व चयनको विषयले पनि विवाद बढाएको छ।”

धेरै पढिएको