काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन आगामी फेब्रुअरी महिनामा हुने भएको छ।
एनआरएनएका महासचिव गौरीराज जोशीले अमेरिकास्थित एक अनलाइन मिडियालाई दिएको अन्तरवार्तामा संघको निर्वाचन फेब्रुअरीमै सम्पन्न हुने जानकारी दिएका हुन्।
उनले भने, “संघको निर्वाचन ढिलोमा फेब्रुअरी महिनामा हुन्छ। यही विकल्प हो। फेब्रुअरीमै निर्वाचन सम्पन्न गर्नकै लागि म स्टेरिङ कमिटीमा आएको हुँ,” जोशीले बताए।
महासचिव जोशीका अनुसार सदस्यता वितरण जनवरी ९ तारिखसम्म खुला गरिसकिएको छ। उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण र विवादरहित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
जोशीले संघको ११ औँ महाधिवेशनमा भएको निर्वाचनप्रति उठेको विवादबारे प्राविधिक पक्ष स्पष्ट पार्दै भने, “भेरोले नतिजा सुनाउँदा काउन्टिङ प्रक्रियामा प्राविधिक समस्या आए पनि त्यसलाई ‘चुनावमै गडबडी’ भएको भन्न मिल्दैन।”
आगामी निर्वाचनका बारेमा उनले थपे, “अब संसारभरका उत्कृष्ट अभ्यास (best practices) अध्ययन गरेर एनआरएनएले अनलाइन प्रणालीमार्फत निर्वाचन गर्नेछ।”