बागमती । मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ ।
जंगलमा मकवानपुरको राक्सिराङ गाउँपालिका-८ राजरांगका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी गाउँपालिका-६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जंगलमा सिकार गर्न हिँडेकामा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङको बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । मृतकको परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।