अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी समुद्रतटमा भएको गोली काण्डमा १५ जनाको मृत्यु भएको छ । गोली लागेर १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको हो । मृतकमा एक आक्रमणकारी पनि रहेको न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले जनाएको छ ।
प्रहरी आयुक्त माल लानियोनले आक्रमणकारीहरू बुबा र छोरा भएको बताए। बुबा ५० वर्ष र छोरा २४ वर्षका छन्। प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते भएका छन्।
घटनास्थलबाट ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई अस्पताल लगिएको छ। प्रहरीले आक्रमणकारी ५० वर्षीय पुरुषसँग हतियारको लाइसेन्स रहेको पाइएको बताएको छ। उनको नाममा छ वटा हतियार दर्ता गरिएको छ, जुन घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा दुई सक्रिय विस्फोटक उपकरण पनि फेला परेका छन्, जसलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटनालाई ‘देशका लागि अन्धकारमय क्षण’ भन्दै यहुदी समुदायप्रति ऐक्यबद्धता जनाएका छन् । विश्व नेताहरूले पनि घटनाको निन्दा गरेका छन् ।