२६ फाल्गुन २०८२, मंगलवार
Follow Us

नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण

नेपालब्रिटेन संवाददाता
३ पुष २०८२, बिहीबार १२:१४

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मत परिणाम घोषणा भए लगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् ।

महाधिवेशनबाट केपी शर्मा ओली नै पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व हात पारे ।

यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरे भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

शंकर पोखरेल महासचिवमा विजयी भए भने उपमहासचिवमा रघुवीर महासेठ,लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा खगराज अधिकारी र पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी भए ।

विजेता सबैले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । १९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरू नै निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् ।

महाधिवेशनले पार्टीको सङ्गठनात्मक संरचनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यस महाधिवेशनले एमालेको आन्तरिक एकतालाई मजबुत बनाउँदै आगामी दिनमा सरकार र विपक्षी भूमिकामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

धेरै पढिएको