काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारमाथि अनुशासनको कारबाही गरेका छन् । शनिबार रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा आयोजित जनसभामा उपाध्यक्ष परियारले ‘अमर्यादित व्यवहार’ प्रदर्शन गरेको र पार्टीको आचारसंहिता उल्लंघन गरेको भन्दै अध्यक्ष साम्पाङले कारबाहीको घोषणा गरेका हुन् ।
शनिबार आयोजित सभामा स्वागत मन्तव्यलगत्तै प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए । साम्पाङको सम्बोधन सकिएलगत्तै पार्टी प्रवेश र टीका लगाउने कार्यक्रम सुरु भयो । सोही समयमा उद्घोषकले उपाध्यक्ष डा. परियारलाई सम्बोधनका लागि मञ्चमा बोलाएका थिए ।
आफूले सम्बोधन गरिरहँदा कार्यकर्ता र दर्शकको ध्यान अध्यक्ष साम्पाङसँग फोटो खिच्न र टीका लगाउनमा केन्द्रित भएपछि डा. परियार मञ्चबाटै आक्रोशित भएका थिए । उनले “म केन्द्रीय उपाध्यक्ष हुँ, मैले बोलेको समयमा ध्यान अन्यत्र मोड्न पाइँदैन” भन्दै आयोजकप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए । उनले कार्यक्रमको तालिका नमिलेको भन्दै टीका लगाउने कार्यक्रम रोक्न माग गर्दै आयोजक कमिटीलाई ‘आत्मसमीक्षा’ गर्न चेतावनीसमेत दिएका थिए ।
उपाध्यक्षको सोही व्यवहार र सम्बोधनपछि आयोजक कमिटीका सह-संयोजकलाई अपशब्द प्रयोग गरेको उजुरी परेपछि अध्यक्ष साम्पाङले कठोर कदम चालेका हुन् । सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै साम्पाङले लेखेका छन्, ‘श्रम संस्कृतिमा कोही सानो वा ठूलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजक र सह-संयोजकमाथि गरेको अपमानजन्य व्यवहारले पार्टीको आचारसंहिता उल्लंघन भएको छ । त्यसैले उहाँ नसच्चिएसम्मका लागि कारबाही गरिएको जानकारी गराउँदछु ।’
श्रम संस्कृति पार्टीभित्र अनुशासनको विषयलाई लिएर पदाधिकारीमाथि कारबाही भएको यो पहिलो घटना भने होइन । यसअघि अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) पनि विस्फोटक पदार्थसम्बन्धी कानुनी मुद्दामा तानिएपछि पार्टीको कारबाहीमा परिसकेका छन् ।