जनकपुरधाम । करिब एक महिनादेखि नेतृत्वविहीन रहेको मधेस प्रदेशसभाले आज (आइतबार) नयाँ सभामुख पाउने भएको छ । गत मंसिर ३ गतेदेखि रिक्त रहेको यो पदपूर्तिका लागि आज दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।
सभामुख चयनका लागि शनिबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता समीकरणमा रहेका सात दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशिष यादव र प्रमुख प्रतिपक्षी नेकपा एमालेका त्रिलोकी प्रसादले मनोनयन दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका फकिरा महतो रहेका छन् । सत्ता साझेदार दलहरूबीचको आन्तरिक सहमतिपछि यादवलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको सिंहले बताए । उनले प्रदेशको विकास र राजनीतिक स्थिरताका लागि यो सहमति महत्वपूर्ण रहेको उल्लेख गरे ।
यता, एमालेका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्तावकमा शारदादेवी थापा र समर्थकमा जयचन्द्र प्रसाद पटेल छन् । दुवै प्रस्तावक र समर्थक एमालेकै प्रदेशसभा सदस्य रहेको प्रदेशसभा सचिवालयले जानकारी दियो ।
तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि मधेसमा सभामुखको पद खाली भएको थियो । मण्डलविरुद्ध कात्तिक २६ गते नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ७६ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । सोही प्रक्रियाअन्तर्गत उनलाई मंसिर ३ गते बहुमतबाट पदमुक्त गरिएको थियो ।
नयाँ सभामुखको निर्वाचनसँगै मधेस प्रदेशको संसदीय गतिविधि र सरकार सञ्चालनमा थप सहजता आउने अपेक्षा गरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ नेतृत्वको चयनले प्रदेशको प्रशासनिक निर्णय र दलहरूबीचको सहकार्यलाई नयाँ गति दिनेछ । निर्वाचन सम्पन्न भएलगत्तै नवनिर्वाचित सभामुखले आफ्नो कार्यभार सम्हाल्ने सचिवालयले जनाएको छ ।