काठमाडौं । नेपाली राजनीतिको सम्भावित नयाँ कोर्सका रूपमा हेरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहबीचको ‘बृहत एकता’ केवल दुई व्यक्तिको मिलाप मात्र रहेन, यसको पछाडि प्रबुद्ध वर्ग र युवा शक्तिहरूको एउटा बलियो घेरा साक्षीका रूपमा उभिएको छ ।
आइतबार बिहान करिब ४ बजे काठमाडौंमा भएको सात बुँदे सहमतिमा दुवै पक्षका मुख्य रणनीतिकार र समाजका प्रभावशाली अनुहारहरूको उपस्थिति थियो । यो एकतालाई मूर्त रूप दिन पर्दा पछाडि भूमिका खेल्नेदेखि हस्ताक्षरको क्षणमा साक्षी बस्नेहरूसम्मको विवरण सार्वजनिक भएको छ ।
को-को थिए साक्षी ?
सम्झौता पत्रमा हस्ताक्षर हुँदै गर्दा रास्वपाका तर्फबाट पार्टीका शीर्ष नेतृत्वको टोली उपस्थित थियो । जसमा पार्टीका उपसभापति डीपी अर्यालसहित प्रमुख नीतिगत व्यक्तित्वहरू डा. स्वर्णिम वाग्ले र शिशिर खनालको उपस्थिति थियो । त्यस्तै, रास्वपाका नेता तथा कलाकार असिम शाह पनि यो ऐतिहासिक क्षणको साक्षी बनेका थिए । अर्थशास्त्रीदेखि शिक्षा क्षेत्रमा दख्खल राख्ने यी अनुहारहरूको उपस्थितिले यो सम्झौतालाई केवल राजनीतिक मात्र नभई ‘बौद्धिक र रणनीतिक’ एकताका रूपमा व्याख्या गरिएको छ ।
बालेन शाहका तर्फबाट उनका प्रमुख सारथिहरू र ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गर्ने युवाहरूको सहभागिता थियो । बालेनको सचिवालयका कुमार बेन, सुदिप ढकाल र भुपदेव साह हस्ताक्षर कार्यक्रममा सहभागी थिए । विशेष गरी युवा आन्दोलनका अगुवा केपी खनालको पनि उपस्थिति थियो । यो राजनीतिक सहमतिमा कला र संस्कृतिको क्षेत्रबाट पनि ऐक्यवद्धता देखिएको छ । चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेत पनि रवि र बालेनको हस्ताक्षरको क्षणमा साक्षीका रूपमा उपस्थित थिए । सामाजिक मुद्दामा मुखर रहने बस्नेतको उपस्थितिले वैकल्पिक राजनीतिको यो नयाँ स्वरुपमा नागरिक समाज र कलाकारहरूको पनि समर्थन रहेको सन्देश दिन खोजिएको छ ।
कसरी भयो हस्ताक्षर ?
मध्यरातको शान्त वातावरणमा लामो छलफलपछि बिहानको ४ बजे दुई नेताले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर पछि रवि र बालेनले एक-अर्कालाई अंगालो हालेर खुसी साटेका थिए भने साक्षी बसेका सबैले यो ऐतिहासिक क्षणलाई सामूहिक फोटोमा कैद गरेका थिए ।
यो सहमतिसँगै अब आगामी निर्वाचनमा रास्वपाको झण्डा र चुनाव चिह्न ‘घण्टी’ मा बालेन शाह भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि बढ्नेछन् भने रवि लामिछानेले पार्टीको साङ्गठनिक नेतृत्व सम्हाल्नेछन् । साक्षीहरूको यो बलियो सूचीले यो सम्झौता केवल क्षणिक नभई दीर्घकालीन राजनीतिक रणनीतिका साथ आएको विश्लेषण गरिएको छ ।