१५ पुष २०८२, मंगलवार
Follow Us

२०२५ को अन्तिम पलेँटीमा गुन्जिए आभासका संगत र सहकार्यका धुन

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८२, मंगलवार ०७:५९

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ ।

आभासका सांगीतिक धुनहरू समेटिएको यसपालिको पलेँटीलाई ‘संगत र सहकार्य’ शीर्षक दिइएको थियो । कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचनाहरू प्रस्तुत भएका थिए ।

कार्यक्रमलाई आभास आफैंले ‘न्यारेट’ गर्दै गीति रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात उनले पहिलो पल्ट स्टेजमा गाएको एकल गीत ‘भुइँ कुहिरो उड्न थाल्यो’ बाट भएको थियो । संगीतकार तथा गीतकार चन्द्र भण्डारीले सिर्जना गरेको यस गीतमा वैचारिक दृढताको अनुभूति झल्कन्थ्यो ।

हरेक गीतको प्रस्तुतिसँगै आभासले त्यस गीतसँग जोडिएको रचनागर्भको चर्चा गरेका थिए । जसमा कहिले गीतकार जोडिन आइपुग्थे भने कहिले संगीतकार । कहिले रोचक संस्मरण जोडिन आइपुग्थे भने कहिले भावुक सम्झना । मिठो मुस्कान सहित प्रस्तुत भएका आभास कार्यक्रमको शीर्षक अनुरूप ‘संगत र सहकार्य’कै वरपर घुमिरहेका सुनिन्थे ।

दोस्रो र तेस्रो प्रस्तुतिमा आभासको पहिलो सांगीतिक एल्बम ‘पलापला’ मा संग्रहित गीत रहेका थिए । उनले आफ्नै शब्द रचनाको ‘आँसुले यो मन बहकिन्छ’ पछि कवि तथा गीतकार विप्लव प्रतीकले सिर्जना गरेको ‘जीवनभर टिठ्याइ रह्यो मलाई जिन्दगीले’ गाएका थिए । आभासले आफ्ना पुराना तीनवटा गीत प्रस्तुत गरिसकेपछि पलेँटीमा सम्लग्न नयाँ पुस्ताकी कण्ठ-शिल्पी अभिज्ञा घिमिरेलाई प्रस्तुत गरेका थिए ।

सुरुमा आफ्ना लागि आफै शब्द रचना गर्ने गरेको जानकारी दिँदै आभासले क्रमश: गीतकार विप्लव प्रतीक र श्रवण मुकारुङसँग संगत भएपछि अन्य गीतकारका शब्दहरूमा पनि आकर्षित भएको जनाएका थिए ।

चौथो प्रस्तुतिमा अभिज्ञाले श्रवण मुकारुङको गीत ‘हजुर हजुर म पो हजुरको’ प्रस्तुत गरेकी थिइन् । पाँचौं र छैठौँ प्रस्तुति पनि अभिज्ञाकै कण्ठमा गुन्जिएका थिए । जसमा कवि मञ्जुलको शब्द रचना ‘कुर्नु कुरिसकेपछि पर्वतले जून पायो’ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचना ‘जिन्दगीको मौसम रहँदै खन खन दिलको खेत’ रहेका थिए । ‘कुर्नु कुरिसकेपछि’ बोलको गीत गायक फत्तेमानको सांगीतिक एल्बम ‘फत्तेमान ७० मा’ सङ्ग्रहित गीत थियो ।

यसपालिको पलेँटीमा आभासले आफूले धुन भरेका पाँचवटा बिल्कुल नयाँ सिर्जनाहरू रहेको जानकारी गराएका थिए ।

नयाँ गीत सुनाउने क्रममा आभासले सबैभन्दा पहिले कुमार नगरकोटीको शब्द रचनामा ‘कहिले घाम कहिले पानी, जिन्दगानी, कहिले धुवाँ कहिले खरानी, जिन्दगानी’ प्रस्तुत गरेका थिए । यमन रागको झलक रहेको यस गीतले निषाद स्वरमा विश्राम लिँदा, पानीकै तरलताको अनुभूति झल्काउँथ्यो ।
त्यसपछि श्रवण मुकारुङको नयाँ गीति रचना ‘तिमीलाई भेट्न भनेर, नौ डाँडा काटी म आएँ’ प्रस्तुत भएको थियो । दादरा तालमा आवद्ध यस गीतलाई अभिज्ञा घिमिरेले नै स्वर दिएकी थिइन् ।

प्रस्तुतिका क्रममा आभासले आफ्नो सांगीतिक सृजना कर्ममा नयाँ नयाँ गीतकारहरू जोडिँदै आएको जनाएका थिए । त्यही क्रममा उनले पश्चिम बङ्गालको सिलगढीमा रहेर कविता तथा गीतमा कलम चलाइरहेका सञ्जय बान्तवाको शब्दमा रहेको ‘नसुनाऊ मलाई धेरै झुठा तिम्रा कुरा’ प्रस्तुत गरेका थिए ।

आभासले सिमाना पारिका नेपालीभाषी गीतकारहरूलाई आफ्नो धुनमा समेट्न पाएकोमा खुसी व्यक्त गरेका थिए । यही सन्दर्भलाई जोड्दै उनले आफूलाई गायनमा साथ दिइरहेकी अभिज्ञा घिमिरेतिर फर्कँदै गीतकार नरदेन रुम्बाको गीत ‘जुनेली त चोखै हुन्छ जुनभरि दाग होला’ गाउन इशारा गरेका थिए ।

अभिज्ञा कलिलै उमेरकी भएपनि उनको गायकीमा आकर्षक परिपक्वता झल्कन्थ्यो ।

नयाँ सिर्जनाको प्रस्तुतिका क्रममा गीतकार दिनेश अधिकारीको ‘यसरी नै रमाउनु, यसै नै यसरी नै रिसाउनु’ बोलको गीत प्रस्तुत भएको थियो । संगीतकार आभासले रोमान्टिक मुडको यो रचना आफ्नो सबैभन्दा कान्छो धुन भएको जानकारी गराएका थिए ।

त्यसपछि पालो आएको थियो कवि तीर्थ श्रेष्ठको प्रसिद्ध कविता ‘हिउँमा लेखिएका नाम’ को । कवि तीर्थको यस कवितालाई आभासले गीतमा रुपान्तरण गरेर आफ्नो सांगीतिक एल्बम ‘ल्यामपोस्ट’ मा संग्रहित गरेका छन् । जसलाई पलेँटीका श्रोता, दर्शकले अत्यधिक रुचाउँदै आएका छन् । सधैँ आभासले गाउने यस गीतलाई यसपाली भने सामूहिक गायनमा प्रस्तुत गरिएको थियो ।

काव्यात्मक सौन्दर्यमा सजिएका शब्दलाई धुन भर्न रुचाउने आभासले कवि श्रवण मुकारुङको एउटा काव्यात्मक गीतलाई द्वन्दकालताकादेखि नै गाउँदै आएका छन्- ‘गौथली झैँ यो गाउँमा कसको मायाले भन तिमी आयौ’ । यो गीतलाई यसपालि अभिज्ञा घिमिरेको स्वरमा प्रस्तुत गरिएको थियो । अभिज्ञाले यो गीतलाई पनि प्रभावकारी ढंगले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमको पुछारतिर आभासले आफ्नो प्रसिद्ध गीति रचना ‘गोधुलीमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो, आफै फेरिएछ’ प्रस्तुत गरेका थिए । यो गीतले नेपालको राजनैतिक नेतृत्वलाई करुणापूर्वक व्यङ्ग्य गरेको प्रतीत हुन्थ्यो ।

यसपालिको पलेँटीको समापन रमाइलो ढंगले भएको थियो । आभासले कवि तथा गजलकार वूँद रानाको गजल ‘पिउँदै नपिउने मान्छे पिएँ अलिकति’लाई मौलिक तरिकाले प्रस्तुत गरेका थिए । आफ्ना गुरु अम्बर गुरुङ र अग्रज सर्जक भीमबिरागसँगका अन्तरङ्ग क्षणहरूको स्मरण गर्दै उनले बैठकी शैलीमा यस गजललाई प्रस्तुत गरेका थिए । अम्बर गुरुङकै उपस्थितिमा पलेँटीमा निक्कै वर्ष पहिले आभासले गाएको यस गजलले नयाँ रौनक उत्पन्न गराएको थियो ।

पलेँटीलाई अब संसारभरिको जुनसुकै कुनामा रहेर पनि प्रत्यक्ष अनुभव गर्न सकिने भएको छ । यसले आफ्नो ‘लाइब’ प्रसारण पनि थालनी गरेको छ । अनलाइनमा निश्चित शुल्क बुझाएपछि आफ्नो मोबाइल, कम्प्युटर, टिभी जेमा पनि पलेँटीको आनन्दमयी सङ्गीतलाई निकटबाट अनुभूत गर्न सकिन्छ । त्यसनिम्ति पलेँटीको वेबसाइटमा सामान्य प्रक्रिया अपनाए पुग्छ ।

यसपालीको पलेँटीलाई जर्मनीको ओग्स्बर्गबाट प्रत्यक्ष हेरेकी रेनाटे साम्बोकको प्रतिक्रिया थियो- ‘प्रविधिको कस्तो चमत्कार ! नेपालयको ‘आर’शालामा भएको साङ्गीतिक गतिविधिलाई आफ्नै घरमा बसेर अनुभव गर्न पाएँ ।’

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), सुन्दरकुमार महर्जन र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (बेस गिटार) र प्रविन पुलामी मगर (रिदम गिटार) को सहभागिता रहेको थियो।

अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार प्रस्तुत हुने पलेँटीमा आउँदो महिना कवि तथा लेखक भूषिता वशिष्टको काव्यात्मक प्रस्तुति हुने भएको छ ।

धेरै पढिएको