काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीति विधान पालनाको सकस र नेतृत्वको टकरावका कारण पेचिलो मोडमा पुगेको छ । तोकिएको मितिमा नियमित १४ औं महाधिवेशन नहुने निश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विधान जोगाउन भन्दै ‘विशेष महाधिवेशन’ को तयारी थालेका छन् ।
महामन्त्रीद्वयको यो तयारीसँगै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । नियमित महाधिवेशनको विकल्पका रूपमा उनीहरूले यही २७ र २८ पुसमा विशेष महाधिवेशन गर्न काठमाडौंको भृकुटीमण्डपस्थित हल समेत सुरक्षित (बुक) गरिसकेका छन् । महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको अनिवार्यताबारे बिहीबार नै सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मौखिक जानकारी गराइसकेका छन् । उनीहरूले शुक्रबार लिखित जानकारी गराउने र शनिबार विज्ञप्तिमार्फत औपचारिक रूपमा विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन् ।
यसअघि १५ मंसिरको केन्द्रीय कार्यसमिति बैठकले १६ पुसदेखि वडा अधिवेशन सुरु गरी २६-२९ पुसमा नियमित महाधिवेशन गर्ने तालिका बनाएको थियो । तर, तल्लो तहको अधिवेशन प्रक्रिया नै सुरु नभएपछि नियमित महाधिवेशनको सम्भावना समाप्त भएको छ । यस्तो अवस्थामा विधानको रक्षा गर्न आफूहरू बाध्य भएर विशेष महाधिवेशनको बाटोमा लागेको महामन्त्रीद्वयको तर्क छ ।
विधानको बाध्यकारी व्यवस्था
गत २८ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थिए । कांग्रेसको विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत सदस्यले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ । सोही व्यवस्थाअनुसार २८ पुसभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्छ ।
विधानको धारा २७ (१) ले केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहने र सञ्चालन गर्ने अधिकार दिएको भन्दै महामन्त्रीद्वयले यसको नेतृत्व लिएका हुन् । ‘देश संविधानअनुसार नचल्ने अनि लोकतान्त्रिक दल विधानअनुसार नचल्ने हो भने समाज कहाँ पुग्छ ?’ महामन्त्री शर्माको प्रश्न छ ।
संस्थापन र इतर पक्षको संशय
महामन्त्रीहरूको यो कदमप्रति संस्थापन पक्ष र नेता डा. शेखर कोइराला भने सशंकित देखिएका छन् । संस्थागत निर्णयबिना बोलाइने महाधिवेशनले पार्टीलाई विभाजनको दिशामा लैजाने उनीहरूको तर्क छ । नेता कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णयबिना महामन्त्रीहरूले मात्र बोलाउने भेलामा आफ्नो सहमति नहुने स्पष्ट पारेका छन् । उनले भने, ‘संस्थागत निर्णयबिनाको भेलाले पार्टी विभाजन गर्ने जोखिम हुन्छ, यसमा मेरो साथ रहँदैन ।’
उता, पार्टी प्रवक्ता प्रकाशशरण महतले निर्वाचनको मुखमा यस्तो निर्णय गर्नुलाई ‘मूर्खतापूर्ण’ संज्ञा दिएका छन् । ‘यो कदमले पार्टीलाई बलियो होइन, कमजोर बनाउँछ । नियमित महाधिवेशन गर्ने जिम्मेवारीमा रहेका महामन्त्रीहरूले नै अहिले विशेष भनेर पार्टीलाई विभाजनको बाटोमा लान खोज्नु दुर्भाग्यपूर्ण छ,’ महतले भने ।
देउवाको सक्रियता र आजको बैठक
विशेष महाधिवेशनको तयारी तीव्र पारिएपछि सभापति देउवाले बिहीबार महामन्त्रीद्वयलाई छलफलका लागि बोलाए पनि अन्तिम समयमा रोकेर निकटस्थहरूसँग परामर्श थालेका छन् । यसै सन्दर्भमा आज (शुक्रबार) दिउँसो ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले भने यो नियमित महाधिवेशनकै अर्को स्वरूप भएको र यसले नेतृत्व परिवर्तनसँगै समयसापेक्ष नीति तथा कार्यक्रम तय गर्ने दाबी गरेका छन् । नेता गुरुराज घिमिरे भन्छन्, ‘यो जेनेरेसन-जी विद्रोहपछि कांग्रेसले लिनुपर्ने बाटो तय गर्ने र पार्टीलाई रूपान्तरण गर्ने अवसर हो ।’
२८ पुसको वैधानिक ‘डेडलाइन’ नजिकिँदै गर्दा कांग्रेसमा संस्थापन पक्ष र महामन्त्रीहरूबीचको जुहारीले पार्टी राजनीति थप तरङ्गित बनेको छ ।