१८ पुष २०८२, शुक्रबार
Follow Us

समानुपातिक समावेशी अधिकारको माग गर्दै महिलाहरूको दबाब अभियान

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८२, शुक्रबार ०५:२२

काठमाडौं । संविधानले लिपिबद्ध गरेको समानुपातिक समावेशी अधिकारलाई राजनीतिक दाउपेचको विषय बनाएर कमजोर पार्न खोजिएको भन्दै शुक्रबार राजधानीका सडकमा महिलाहरूले खबरदारी गरेका छन् । समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको विरोधमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

‘महिला अधिकारका लागि दबाब अभियान’ अन्तर्गत माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली बबरमहल पुगेर कोणसभामा परिणत भएको थियो । राजनीतिक वृत्तमा देखिएका कतिपय अभ्यासले समावेशीताको मर्ममाथि प्रहार गर्न खोजेको निष्कर्षसहित विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाहरू एकताबद्ध भई सडकमा ओर्लिएका थिए ।

उनीहरूले समानता, सामाजिक न्याय र समावेशीताको ग्यारेन्टी नभएसम्म लोकतन्त्र बलियो नहुने जिकिर गरे । साथै, समाजमा व्याप्त दण्डहीनताको अन्त्य गर्दै विधिको शासन कायम गर्नुपर्ने मागसहितका नाराहरूले बबरमहल क्षेत्र गुञ्जायमान बनेको थियो । सहभागीहरूले हात-हातमा बोकेका प्लेकार्डमा संविधानप्रदत्त अधिकारको रक्षा र कार्यान्वयनको पक्षमा जोडदार आवाज उठाइएको देखिन्थ्यो ।

धेरै पढिएको