१८ पुष २०८२, शुक्रबार
Follow Us

काँग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ गते, देउवाको कार्यकाल जेठ मसान्तसम्म थप

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८२, शुक्रबार १२:५२

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी वैशाख २८,२९,३० र ३१ गते काठमाडौँमा हुने भएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ल्याइएको कार्यतालिका परिमार्जन गर्दै आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने नयाँ कार्यतालिका पारित गरेको हो ।

नयाँ कार्यतालिका नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तावित कार्यतालिकालाई केन्द्रीय कार्य समितिको बैठकले पारित गरेको पार्टीका नेता विमलेन्द्र निधिले बताए । उनकाअनुसार विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको बताए ।

उनले भने ‘कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिजीले जुन प्रस्ताव प्रस्तुत गर्नुभएको छ, यो विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको छ । १५ औँ नियमित महाधिवेशन पुस २६,२७ र २८ गतेका लागि तोकिएको थियो, त्यसको संशोधित कार्यतालिका आएको छ । २०८३ वैशाख, २८, २९, ३० र ३१ गते काठमाडौँमा हुनेगरी नयाँ कार्यतालिका कार्य समितिको बैठकमा प्रस्तुत भएको छ । त्यही नै पारित भएको छ ।’

यसअघि काँग्रेसले पुस २६,२७ र २८ गते महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेको थियो ।

देउवाको कार्यकाल जेठ मसान्तसम्म थप
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित सबै कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थपिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले देउवा नेतृत्वको मौजुदा कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म तन्काउन प्रस्ताव गरेको थियो ।

मंसिर १५ को केन्द्रीय समितिले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकमा महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

कांग्रेसको नियमित महाधिवेशन तालिका यही पुस २६-२८ गते हुने निर्णय मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले गरेको थियो । तर उक्त निर्णयसहितको तालिका सबै प्रभावित भइसकेको छ ।

धेरै पढिएको