एडिनबरा – गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार नियुक्ति तथा को–अप्ट सदस्य थप गर्दै कार्यसमितिलाई पूर्णता दिएको छ।
एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सोमबार स्कटल्याण्डमा भौतिक रूपमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले संरक्षक, सल्लाहकार तथा को–अप्ट सदस्यहरूको मनोनयन गरेको हो।
बैठकले एनआरएनए यूकेको संरक्षकमा एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी) का संस्थापक सदस्य चिरञ्जीवी ढकाललाई नियुक्त गरेको छ।
त्यसैगरी सल्लाहकारमा इन्जिनियर तुल्सी फुयाल, एकेन्द्र गुरुङ, कुसाङ गुरुङ, मिन गुरुङ, माधवलाल श्रेष्ठ, लक्ष्मी केसी, रोमनाथ पाण्डे, दिनेश घिमिरे, सुशिला राई, रामचन्द्र पोखरेल, ह्यारी गुरुङ, विनोद पुरी, राजु आचार्य, रामप्रसाद न्यौपाने, डा. मुकुन्द बास्तोला र मेजर इन्द्रप्रसाद राईलाई मनोनयन गरिएको छ।
त्यस्तै, डा. प्रमोद कोई राई, रामप्रसाद बगाले, मोती खरेल, विष्णु बराल मगर, सुरेश गौतम, प्रकृति थापा प्याकुरेल, डा. केशव भट्टराई, मनिष खत्री, शशी कार्की, डा. बिना घिमिरे, शिव पराजुली, परशुराम पाण्डे, यज्ञ क्षेत्री, गणेश गुरुङ र जुमकाजी गुरुङलाई पनि सल्लाहकारमा मनोनयन गरिएको छ।
बैठकले कार्यसमितिलाई थप मजबुत बनाउँदै तमुधीं यूकेका पूर्व अध्यक्ष हरि गुरुङ, गौतम राई, पद्म गोले र रिता कार्की गौतमलाई को–अप्ट सदस्यमा मनोनयन गरेको छ।
नयाँ सदस्यता आह्वान
कार्यसमितिको बैठकले एनआरएनए आईसीसीको निर्देशनअनुसार नयाँ सदस्यता आह्वान खुला भएकाले एमआईएस प्रणालीमार्फत सदस्य बन्न आग्रह गरेको छ। १० पाउण्ड शुल्क तिरेर सदस्यता लिएपछि आगामी फेब्रुअरीमा हुने आईसीसी निर्वाचनमा डेलिगेटका रूपमा प्रतिस्पर्धा गर्न सकिने जनाइएको छ।
विधान संशोधन उपसमिति गठन
एनआरएनए यूके अन्तर्गत राज्य समन्वय परिषद्हरूबीच अधिकार बाँडफाँडलगायत विषयहरू विधानमा स्पष्ट नभएकाले समयानुकूल संशोधनका लागि उपसमिति गठन गरिएको छ। उपाध्यक्ष कृष्ण भण्डारी संयोजक र विदुर खत्री उपसंयोजक रहेको उपसमितिले सदस्य विस्तार तथा राज्यहरूसँग छलफल गरी छिटोभन्दा छिटो संशोधन प्रस्ताव पेश गर्नेछ।
विविध निर्णयहरू
बैठकले आगामी मार्चमा तीनवटै राज्य समन्वय परिषद्मा च्यारिटी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आपतमा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्न ‘अलायन्स ग्रुप’ गठन गर्ने र विशेषतः विद्यार्थी सहयोगमा केन्द्रित रहने निर्णय पनि गरिएको छ।
एनआरएनए यूकेमा नयाँ पुस्ताको सहभागिता बढाउन बेलायतमै जन्मिएका तथा हुर्किएका युवालाई समेट्दै ‘नव युवा विभाग’ गठन गरिएको छ। सो विभागको जिम्मेवारी दृश्य ढकाल र मनिषा कँडेललाई दिइएको छ।
आर्थिक, च्यारिटी, विद्यार्थी विभाग तथा राज्य समन्वय परिषद् इङ्ग्ल्याण्ड अध्यक्ष राममाया विष्ट र स्कटल्याण्ड अध्यक्ष शेरबहादुर केसीले आ–आफ्ना गतिविधिबारे जानकारी गराएका थिए।
रिक्त विभागहरूमध्ये सांस्कृतिक विभागमा लक्ष्मी देवकोटा (स्कटल्याण्ड) र छम रेग्मी (नर्दन आयरल्याण्ड), नागरिकता विभागमा यज्ञमूर्ति ढकाल, पर्यटन विभागमा तारानाथ भण्डारी र सुजन गौतम, विद्यार्थी विभागमा राजेश भट्ट र जेम्स पल, महिला विभागमा महिमा बराल, भाषा–साहित्य–संस्कृति विभागमा विजय डंगोल, सूचना तथा सञ्चार विभागमा अन्जु न्यौपाने (नीलसागर), आईटी विभागमा थरिन्द्र धिमिरे (किरण) र युवा विभागमा रविन पाण्डे थप गरिएको छ।
स्वास्थ्य र सांस्कृतिक कार्यक्रम
बैठकमा महिला संयोजक बिनु लामिछाने घिमिरेले दाँतसम्बन्धी रोग तथा रोकथामबारे कार्यपत्र प्रस्तुत गरिन् भने महिला सचिव कला पोखरेलले हेल्थ एण्ड वेलबिइङसम्बन्धी कार्यक्रम प्रस्तुत गरिन्।
एनआरएनए यूकेको सहभागितामा नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना साँझ कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा गायक सन्दीप न्यौपानेसहित कलाकारहरूले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
यसैबीच, महिला उपाध्यक्ष कमला श्रेष्ठ स्कटल्याण्ड–नेपाल–स्कटल्याण्ड एसोसिएसनको अध्यक्षमा निर्वाचित भएकोमा तथा कार्यसमिति सदस्य लोकनाथ अधिकारी नेपाली समाज नटिङ्घमको अध्यक्षमा निर्वाचित भएकोमा बैठकले बधाई ज्ञापन गरेको छ।
