२७ पुष २०८२, आईतवार
Follow Us

भृकुटीमण्डपमा सुरु भयो कांग्रेस ‘विशेष महाधिवेशन’ प्रतिनिधिको नाम दर्ता

नेपालब्रिटेन संवाददाता
२७ पुष २०८२, आईतवार ०५:३३

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक धुव्रीकरणकाबीच आजदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘विशेष महाधिवेशन’ सुरु भएको छ । महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहानबाटै सुरु गरिएको छ ।

पार्टी विधानको धारा १७ (२) बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा यो महाधिवेशन आयोजना गरिएको हो । यद्यपि, संस्थापन पक्षले भने यसलाई औपचारिक मान्यता दिएको छैन ।

बिहान ८ बजेबाटै प्रतिनिधि दर्ता गर्ने कार्यतालिका रहे पनि प्राविधिक तयारीका कारण केही समय ढिला गरी प्रक्रिया सुरु भएको थियो । महाधिवेशन स्थलको मूल प्रवेशद्वारसँगै राखिएका स्टलहरूबाट प्रतिनिधिहरूले उत्साहका साथ नाम दर्ता गराइरहेका छन् । प्रतिनिधि दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ ।

महाधिवेशनको औपचारिक उद्घाटन आज मध्याह्न १२ बजे गर्ने तय भएको छ । उद्घाटन सत्र अघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट र्‍याली तथा जुलुस निकालेर भृकुटीमण्डपमा मिसिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

उद्घाटन समारोहको सभापतित्व नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सभापति सबुज बानियाँले गर्नेछन् । उद्घाटन सकिएलगत्तै सुरु हुने बन्द सत्रको अध्यक्षता भने उपस्थित प्रतिनिधिमध्येका जेष्ठ सदस्यले गर्ने व्यवस्था मिलाइएको छ ।

धेरै पढिएको