भरतपुर । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलताल नजिकै त्रिशूली नदीको किनारमा एउटा बसको अवशेष फेला परेको छ । गत असार २८ गते पहिरोसँगै नदीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बसमध्येकै कुनै एकको भाग हुनसक्ने अनुमान गरिएको छ । सिमलताल क्षेत्रको तनहुँतर्फ पर्ने बगरमा बालुवाले पुरिएको अवस्थामा निलो रङको बसको टुक्रा भेटिएको हो ।
स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । अवशेष भेटिए लगत्तै उक्त स्थानमा प्रहरी टोली परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले फेला परेको अवशेषबारे यकिन गर्न टोली घटनास्थलमा खटिएको जानकारी दिए । ‘बालुवामा पुरिएको अवस्थामा बसको एउटा भाग देखिएको छ । यो गत असारमा बेपत्ता भएका बसहरूकै अवशेष हो वा अन्य केही भन्नेबारे विस्तृत अध्ययन र पहिचानको काम भइरहेको छ,’ डीएसपी खनालले भने ।
गत असार २८ गते बिहानको समयमा मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुईवटा यात्रुवाहक बस त्रिशूलीमा विलीन भएका थिए । वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको ‘एन्जल डिलक्स’ त्रिशूलीमा खसेका थिए ।
दुर्घटनामा परी ६५ जना यात्रु बेपत्ता भएका थिए । लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय (भारतीय टोलीसहित) गोताखोरको सहयोगमा खोजी कार्य जारी राखिए पनि बसको मुख्य भाग फेला पर्न सकेको थिएन । खोजीका क्रममा विभिन्न स्थानमा २५ जना यात्रुको शव फेला परे पनि ४० जना अझै बेपत्ता छन् ।