३० पुष २०८२, बुधबार
Follow Us

सिन्धुली एसबीआई बैंक लुट प्रकरण : ४ जना पक्राउ, पौने २ करोड नगद बरामद

नेपालब्रिटेन संवाददाता
३० पुष २०८२, बुधबार ०६:०७

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न गिरोहमध्ये चारजनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय बासिन्दा र प्रहरीको संयुक्त सक्रियतामा लुटिएको ठूलो परिमाणको नगदसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

मंगलबार राति घ्याङलेख-२ बस्तीपुर, हायुटारमा रहेको बैंकको शाखाबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटिएको थियो । लुटपाटमा ५ देखि ६ जनाको समूह संलग्न रहेको प्रारम्भिक अनुमान छ । घटनालगत्तै परिचालन भएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घ्याङलेख-१ सुकाचुरी क्षेत्रबाट लुटेराहरूलाई घेरा हाली समात्न सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ परेकाहरूको साथबाट १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको छ । ‘अहिलेसम्म चारजनालाई नियन्त्रणमा लिन सफल भएका छौँ,’ एसपी सुवेदीले भने, ‘लुटिएको बाँकी रकम र फरार अन्य व्यक्तिको खोजी कार्य तीव्र पारिएको छ ।’

बैंक लुटेर भाग्दै गरेको अवस्थामा शंका लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सक्रियताकै कारण लुटिएको आधाभन्दा बढी रकम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन भने उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

घटनापछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ र अन्य फरार अभियुक्तहरू उम्कन नपाउन् भनेर छिमेकी जिल्लाका नाकाहरूमा समेत निगरानी बढाइएको छ ।

धेरै पढिएको