६ माघ २०८२, मंगलवार
Follow Us

रास्वपाबाट ललितपुर-२ मा खरेलको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
६ माघ २०८२, मंगलवार ०५:५८

काठमाडौँ । सञ्चारमन्त्री पदबाट सोमबार राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने भएका छन् । उनको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान ११ बजे आयोजना गरिने जनाइएको छ ।

पार्टी प्रवेशसँगै खरेल ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको छ । यसअघि चुनाव लड्ने विषयमा निर्णय नभएको बताउँदै आएका खरेलले मनोनयन दर्ता सुरु हुनुअघि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

भदौ २३ र २४ गते सम्पन्न जेन जेड आन्दोलनपछि निर्वाचन सम्पन्न गराउने मुख्य दायित्वसहित गठन भएको वर्तमान सरकारबाट हालसम्म चार जना मन्त्रीले पद त्याग गरिसकेका छन् । केहीबेर अघि मात्रै शिक्षामन्त्री महावीर पुनले आफ्नै अभियानलाई निरन्तरता दिन भन्दै राजीनामा दिएका छन् ।

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले पद त्याग गरी उज्यालो नेपाल पार्टीको अध्यक्षका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन् ।

धेरै पढिएको