२४ फाल्गुन २०८२, आईतवार
Follow Us

स्पेनमा भलिबलको रोमाञ्चक उत्सव

नेपालब्रिटेन संवाददाता
७ माघ २०८२, बुधबार ०५:४५

रमेश खनाल । स्पेन । बार्सिलोनास्थित नेपाली समुदायको आपसी एकता, सद्भाव र खेलकुदप्रतिको उत्साह झल्काउने भलिबल प्रतियोगिता भव्य, सभ्य तथा अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। रोयल राइडर टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरी उपाधि जित्न सफल भएको उक्त प्रतियोगितामा तमु समाज म्याड्रिड टिमले द्वितीय स्थान हासिल गरेको छ।

रोयल राइडरको आयोजनामा सम्पन्न यस प्रतियोगिताले खेलकुदमार्फत नेपाली समुदायबीच मित्रता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी सागर विश्वकर्मा, अनुशासित खेलाडी विशाल भण्डारी, बेस्ट ब्लकर पवन गुरुङ तथा बेस्ट डिफेन्सर तेन्जी थापा मगरलाई सम्मानसहित बधाई ज्ञापन गरिएको थियो।

खेलकुदले समाजमा अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै आयोजक पक्षले यस्ता प्रेरणादायी तथा एकतामूलक कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (NRNA) स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथिले प्रतियोगिताको सफल आयोजना प्रति आयोजक टिमको कुशल व्यवस्थापन, समर्पण र अथक मेहनतको खुलेर प्रशंसा गर्दै हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो।

रोयल राइडरका अध्यक्ष अन्तिम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण खेलाडीहरू, खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू, समाजसेवी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली समुदायप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

धेरै पढिएको