११ माघ २०८२, आईतवार
Follow Us

६ लाख ६३ हजार कार्यकर्तालाई ओलीले पठाएको पत्र

नेपालब्रिटेन संवाददाता
११ माघ २०८२, आईतवार ०६:०७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका ६ लाख ६३ हजार सङ्गठित सदस्यहरूलाई व्यक्तिगत रूपमा पत्र पठाएका छन् । आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ मैदानमा उत्रिन आग्रह गर्दै ओलीले सबै सदस्यहरूलाई पत्राचार गरेका हुन् ।

पार्टी अध्यक्षबाट प्राप्त उक्त पत्रमा आसन्न निर्वाचन केवल सत्ता परिवर्तनको विषय मात्र नभई देशको भविष्य तय गर्ने कडी भएको उल्लेख गरिएको छ । अध्यक्ष ओलीले निर्वाचनले मुलुकलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने विषयको फैसला गर्ने भन्दै यसलाई ‘हार र जितको निर्णायक घडी’का रूपमा चित्रण गरेका छन् ।

मुलुकको समृद्धिका लागि एमालेको एकल बहुमत अपरिहार्य रहेको जिकिर गर्दै ओलीले पत्रमा लेखेका छन्, ‘देश निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न हाम्रो पार्टीलाई स्पष्ट बहुमत आवश्यक छ । अतः बहुमत सुनिश्चित गर्न र हाम्रा उम्मेदवारहरूलाई विजयी बनाउन कमरेडहरूको सक्रिय सहयोग र उच्च मनोबलको हार्दिक अपेक्षा गर्दछु ।’

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार, तल्लो तहका कार्यकर्तासम्म उत्साह भर्न र निर्वाचन परिचालनलाई थप प्रभावकारी बनाउन यो रणनीति अपनाइएको हो । ‘यति ठूलो सङ्ख्यामा रहेका पार्टी सदस्यहरूलाई अध्यक्ष आफैँले व्यक्तिगत रूपमा सम्बोधन गर्दा कार्यकर्तामा अपनत्व बढ्ने र नेतृत्वसँग सिधा सम्पर्कको अनुभूति हुने हाम्रो विश्वास छ,’ शाहीले भने ।

पार्टीले यस पत्राचारमार्फत दुईवटा मुख्य सन्देश आम मतदातासम्म पुर्‍याउन चाहेको देखिन्छ । पहिलो- मुलुकमा अस्थिरता र ध्वंसात्मक गतिविधि गर्ने शक्तिलाई चुनावी मैदानबाटै बिदा गर्ने र दोस्रो- विकास र समृद्धिको नेतृत्व गरेको एमालेलाई पुनः मुलुकको बागडोर सुम्पिनुपर्ने । अध्यक्षको विशेष सक्रियताले कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार हुने र चुनावी प्रचारप्रसार थप परिणाममुखी हुने दाबी एमाले नेतृत्वको छ ।

धेरै पढिएको