११ माघ २०८२, आईतवार
Follow Us

इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ माघ २०८२, आईतवार ०६:११

इटहरी । सुनसरीको व्यस्त व्यापारिक केन्द्र इटहरी उपमहानगरपालिका-६ स्थित मुख्य चोकमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जना साइकलयात्रीको मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा धनकुटा घर भई हाल इटहरी-४ मा बसोबास गर्दै आएका ४५ वर्षीय पूर्णप्रसाद राईको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बागमती प्रदेश ०१-००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते भएका राईलाई प्रहरीकै भ्यानमा राखेर तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याए लगत्तै राति ९ः५४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले ट्रकको तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको देखाएको छ । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले केही समय मुख्य सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका थिए । स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवासको नेतृत्वमा थप सुरक्षाकर्मीको टोली परिचालन गरी अवस्थालाई सामान्य तुल्याइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-१६ का २९ वर्षीय उपेन्द्र यादव रहेका छन् । उनीमाथि सवारी ज्यान मुद्दा अन्तर्गत थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

धेरै पढिएको