काठमाडौं । टी-२० विश्वकप नजिकिँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीको आत्मविश्वास चुलिएको छ । भारतको मुम्बईमा अभ्यासरत टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकपको तयारी उत्साहजनक भइरहेको र सिंगो टिम उच्च मनोबलका साथ मैदान उत्रिन व्यग्र रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको छोटो कुराकानीमा कप्तान पौडेलले टोलीको तयारी र सन्तुलनबारे खुलेर चर्चा गरे । ‘हाम्रो तयारी एकदमै राम्रो भइरहेको छ, अभ्यास खेलहरूले हामीलाई थप निखारिरहेका छन्,’ रोहितले भने, ‘हामी विश्वकपका लागि निकै उत्साहित (एक्साइटेड) छौँ ।’
कप्तान पौडेलले यसपटकको नेपाली टोलीलाई अनुभव र नयाँ जोसको ‘सुन्दर सम्मिश्रण’ को रूपमा ब्याख्या गरेका छन् । अनुभवी बलर सोमपाल कामीले तेस्रो पटक विश्वकप खेल्दै गर्दा तीन जना खेलाडीले पहिलो पटक विश्वकपमा डेब्यु गर्न लागेको प्रसंग कोट्याउँदै उनले भने, ‘नयाँ र पुराना खेलाडीहरूको तालमेलले नेपालको टिम सन्तुलित र बलियो बनेको छ ।’
राष्ट्रिय जर्सी पहिरिँदाको क्षणलाई कप्तान रोहितले भावनात्मक रूपमा लिएका छन् । सन् २०१४ को विश्वकप घरमै बसेर हेरेको स्मरण गर्दै उनले भने, ‘त्यतिबेला दर्शक बनेर हेरेको थिएँ, आज आफैं खेल्दैछु। राष्ट्रिय टोलीको यो जर्सीले मलाई सधैं भावुक बनाउँछ ।’
उनले २०२६ को विश्वकप छनोट यात्रा सहज नरहेको पनि स्वीकारे । विश्वमञ्चमा नेपालको प्रस्तुति कस्तो होला भन्ने आम चासोबीच रोहितले देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हामी मैदानमा आफ्नो शतप्रतिशत दिनेछौँ,’ उनले भने, ‘हाम्रो खेल र नतिजाले नेपाल र नेपालीलाई गर्व गर्न सहयोग गर्नेछ भन्नेमा म विश्वस्त छु ।’