काठमाडौँ । सरकारले नयाँ संसद् भवन क्षेत्रभित्र जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा सालिक स्थापना गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस प्रयोजनका लागि सिंहदरवार परिसरको गुरुयोजनामा आवश्यक संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
निर्णयअनुसार निर्माणाधीन संसद् भवनको अगाडिको क्षेत्रलाई समेट्ने गरी स्मृतिसंरचना निर्माण गरिनेछ। यसले आन्दोलनका क्रममा भएको मानवीय क्षतिलाई औपचारिक रूपमा स्मरण गर्ने सरकारी नीति झल्काउने अपेक्षा गरिएको छ।
यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले भदौ २३ र २४ गते सम्पन्न जेन जेड आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीदको मान्यता प्रदान गरेको थियो। सोही निर्णयको निरन्तरताका रूपमा शहीदहरूको सम्झनामा स्थायी संरचना स्थापना गर्न लागिएको सरकारको भनाइ छ।