२ बैशाख २०८३, बुधबार
Follow Us

सुरक्षाको ‘तेस्रो घेरा’ सम्हाल्न मैदानमा उत्रियो सेना, करिब ८० हजार फौज तैनाथ

नेपालब्रिटेन संवाददाता
२१ माघ २०८२, बुधबार ०६:१२

काठमाडौं । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले आजदेखि औपचारिक रूपमा सुरक्षा मोर्चा सम्हालेको छ । निर्वाचन सुरक्षाको अन्तिम तथा निर्णायक घेरा मानिने ‘तेस्रो घेरा’ को जिम्मेवारीसहित सेना ब्यारेकबाट फिल्डमा निस्किएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा गत मंसिर ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सेना परिचालनको स्वीकृति प्राप्त भएपछि जंगी अड्डाले ‘एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२’ अनुसार आफ्ना गतिविधि अघि बढाएको थियो । सोही योजनाअनुरूप आजदेखि मुलुकभरका निर्वाचन क्षेत्रमा सेनाको उपस्थिति बाक्लिएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार यसपटकको निर्वाचन सुरक्षाका लागि देशभर कुल ७९ हजार ७२७ सैनिक जनशक्ति खटिएका छन् । सेनाले अति संवेदनशील र संवेदनशील क्षेत्रहरूको वर्गीकरण गरी सोहीअनुसार गस्ती (पेट्रोलिङ) र तैनाथी सुरु गरेको छ । सहायक रथी बस्नेतले भने, ‘संवेदनशीलताका आधारमा सेनाले आफ्नो उपस्थिति जनाउनेछ । निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा सेनाले बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्नेछ ।’

भौगोलिक विकटता र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेनाले हवाई गस्तीलाई पनि प्राथमिकतामा राखेको छ । आपतकालीन अवस्थामा तत्काल रेस्पोन्स गर्न र विकट क्षेत्रमा मतपत्र तथा मतपेटिका ढुवानी गर्नका लागि पाँच प्रमुख स्थानमा हेलिकप्टर तयारी अवस्थामा (स्ट्यान्डबाई) राखिएको छ ।

सेनाका अनुसार काठमाडौं, पोखरा, सुर्खेत, विराटनगर र इटहरीमा हेलिकप्टर तैनाथ गरिएको छ । ‘सडक सञ्जाल नपुगेका दुर्गम स्थानमा मतपेटिका पुर्‍याउन र निर्वाचनपछि गणनास्थलसम्म ल्याउन हवाई साधनको प्रयोग गरिनेछ,’ प्रवक्ता बस्नेतले बताए । साथै, कुनै अप्रिय घटना हुन नदिन हवाई गस्ती समेत गरिने जनाइएको छ ।

निर्वाचनको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति मतदानस्थलमा केन्द्रित हुनुपर्ने भएकाले महत्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । आजैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका अन्य विमानस्थल, कारागारहरू, सिंहदरबार लगायतका अति महत्वपूर्ण प्रशासनिक केन्द्रहरूको सुरक्षा सेनाले सम्हालेको छ । यसअघिका निर्वाचनहरूमा पनि सेनाले यस्तो जिम्मेवारी बहन गर्दै आएको थियो ।

निर्वाचन बिथोल्न खोज्ने समूहबाट हुनसक्ने विस्फोटक पदार्थको प्रयोग र अन्य विष्फोटनका जोखिम नियन्त्रण गर्न सेनाले विशेष तयारी गरेको छ । अति संवेदनशील मतदानस्थल र आसपासका क्षेत्रमा बम डिस्पोजल टोलीलाई ‘अलर्ट’ अवस्थामा राखिएको सेनाले जनाएको छ ।

धेरै पढिएको